कर्णाली पोष्ट जुम्ला ।
नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले मन्त्री बन्न योग्यता तोक्ने प्रस्ताव राखेका छन् । मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले अहिलेको सत्तारुढ गठबन्धनलाई मन्त्री छान्न सकस भइरहेको भन्दै मन्त्री बन्नका लागि योग्यता तोक्नुपर्ने भनी ब्यंग्य गरे ।
साथै सांसद महतले मन्त्री बन्नका लागि केही शर्त तोक्न आग्रह गरे । जसमा पार्र्टीको स्थायी कमिटी सदस्य हुनुपर्ने,टन्न पैसा हुनुपर्ने,यसअघि कम्तीमा दुई पटक मन्त्री भएको हुनुपर्ने धेरै पार्टी फेरबदल गरेको हुनुपर्ने,पार्टी नेतृत्वलाई घुर्की धम्की धाक दिन सक्ने भएको सांसद हुनु पर्ने बताए ।
त्यस्तै, कुनै गुटमा आवद्ध भएको हुनुपर्ने,भरसक पति, पति नभए पत्नी हुनुपर्ने,नेतृत्व वरिपरि घुम्ने र खुशी बनाउन सक्ने खुबी भएको,भ्रष्टाचार र कमिसनको दुलाहरु थाहा पाएको, यो सबै थाहा पाएको माननीयलाई मन्त्री बनाउन् पर्ने र संसदमा आइराख्नु नपर्ने, यसो झल्याक झुलुक गरे हुने गरी ११ बुदे सर्तका आधारमा मन्त्री बनाउनु पर्ने सांसद महतले व्यंगे गरे । सांसद महतले यस्तो मापदण्ड बनाएमा नेताहरुलाई मन्त्री छान्न सजिलो हुने टिप्पणी गरे ।
‘प्रत्यक्ष सांसद हटाऔं’
सांसद महतले प्रतिनिधिसभाका २७५ सांसदमध्ये २७४ जना रमिते भएको र एक जनाले संविधान बारम्बार मिचेको टिप्पणी गरे । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दुई पटक संसद विघटन गरेको घटनातर्फ इगित गर्दै उनले भने ‘हामी आफैंले बनाएको संविधानलाई हामी सबैले हिर्काइरहेका छौं, १ जनाले हिर्काइराख्ने, २७४ जना रमिते भइराख्यौं ।
सांसद महतले आफ्नो संस्था प्रतिनिधिसभा बचाउन नसक्दा रुँदै रुँदै अदालत गुहार्न जानुपरेको पनि बताए । सांसद महतले सत्तारुढ गठबन्धनले न्युनतम साझा कार्यक्रम ल्याउँदा संविधान संशोधनको प्रस्ताव पनि ल्याउन सुझाव दिए ।
‘प्रत्यक्ष माननीय आवश्यक छैन, समानुपातिक भए पुग्छ । उनले भने, ‘हेरिरहने माननीय किन चाहियो ? सबै हटाउनुर्पयो, उनले भने ।