जिल्ला कमिटि अध्यक्षमा शान्तिलाल महत, ५६ जना जनप्रतिनिधि एमालेमै


मानदत्त रावल, जुम्ला : नेकपा एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत चयन भएका छन् । एमाले जिल्लाका अध्यक्ष तिर्थ बुढा नेकपा एकिकृत समाजवादी पार्टीमा गएपछि एमाले जुम्लाले अध्यक्ष पदका लागि महत सहितको नयाँ कमिटि विस्तार गरेको छ ।
नेकपा एमाले जुम्लाले गरेको कार्यकर्ता भेलामा अध्यक्ष महत सहितको १४९ जना जिल्ला कमिटि गठनका लागि प्रस्ताब गरेको हो । प्रस्तावित कमिटिको भने सोमवार हुने वैठकले अनुमोदन गर्ने नेकपा एमाले जुम्लाले जनाएको छ ।
शनिवार नेकपा एकिकृत समाजवादीले आफ्नो कित्ता छुट्याएपछि एमाले जुम्लाले कार्यकर्ताको शक्ति प्रदर्शन गर्दै पछिल्लो आइतवार उद्योग बाणिज्य संघको हलमा भेला सम्पन्न गरेको छ । भेलामा नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, पूर्व राज्यमन्त्री बलवहादुर महतले सम्वोधन गरेका हुन् ।
प्रदेश अध्यक्ष वोगटीले एमाले विभाजन पछिको समसामयिक राजनितिक अवस्थाका बिषयमा सम्वोधन सहित कार्यकर्तालाई निर्देशन दिए । उनले भने एमाले अव नयाँ शिरावाट अगाडी बढेको छ । उनले केही गरेपनि एमालेमा नरहेका माधव नेपाल सहितको पार्टी नभई चोईटिएको भन्दै एमाले भित्र अन्य दलका रामबहादुर थापा सहित प्रभावशाली नेता पनि आएकाले नयाँ शिराबाट जानु पर्ने अवस्था आएको बताए । उनले जिल्लामा नयाँ कार्ययोजना अगाडी बढ्न आवश्यक रहेको बताए ।
पूर्व राज्यमन्त्री बलबहादुर महतले जुम्लामा एमालेका संस्थापक नै भएकाले एमाले सवै भन्दा ठूलो पार्टी भएको दावी गरे । नेकपा एमाले प्रदेश कमिटि सदस्य मेनका पछाईले एमाले फुटाएर कमजोर गर्ने प्रयास सफल नहुनेमा जोड दिइन् ।
बहुमत जनप्रतिनिधि एमालेमै
जुम्लामा नेकपा एमालेमा बहुमत जनप्रतिनिधि भएको दावी गरिएको छ । जिल्लाभरी पार्टी विभाजन पछि जनप्रतिनिधि र पार्टीको अवस्थाका विषयमा रिपोटिङ समेत गरिएको छ । जनप्रतिनिधिको अवस्थाको विषयमा तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले जिल्लाभर एमालेले जितेको ६० वडामा ९३ जना जनप्रतिनिधिमा ५६ जना एमालेमै रहेको दावी गरे । उनले एक अध्यक्ष, ६ वडाध्यक्ष, ४९ जना वडा सदस्य एमालेमै रहेको बताए ।

सनाखत गरेपनि एमालेमै रहेको घोषणा
चन्दननाथ नगरपालिका वडानम्बर ७ का सदस्य काली कामीले आफुले नेकपा एकिकृत समाजवादीको पक्षमा सनाखत गरेपनि एमालेमै रहेको घोषणा गरेकी छन् । यद्यपी २२ गतेसम्म सनाखत गर्ने अवधि भएकाले एमाले र नेकपा एसमा कति जनप्रतिनिधि कता भन्ने अन्तिम नतिजा नआएको निर्वाचन आयोग जुम्लाले जनाएको छ ।
पार्टीका अवस्थाको विषयमा चन्दननाथ नगरपालिकामा धर्मेन्द्र रोकाया, कनकासुन्दरी गाउँपालिकाको मानबहादुर रोकाया, सिञ्जाको यूवराज बम, हिमामा जयबहादुर खत्री, तिलामा शान्तिनाथ योगी, तातोपानीमा सुरतबहादुर शाही, गुठिचौरमा प्रेमबहादुर बुढा र पातारासीमा हंश रोकायाले पार्टी विभाजन पछिको अवस्था प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस