नेपाली काँग्रेस सभापतिमा शेरबहादुर देउवा पुनः निर्वाचन हुँदा भृकुटीमण्डप सुनसानजस्तै थियो । काठमाडौंको राष्ट्रिय सभागृहमा भएको मतगणनाको बुधबार विहान परिणाम आएर देउवा निर्वाचित हुँदा त्यहाँ न नाराबाजी थियो, न विजयी जुलुस ।
पार्टीको आन्तरिक निर्वाचनमा भएको जीत–हारलाई उत्साहका रुपमा लिन आवश्यक नभएको उनीको भनाइ थियो । मतगणना स्थलमा सहभागी भएका केही नेता कार्यकर्ताले पनि देउवाको जितलाई उत्साहका रुपमा लिएको देखिएन ।
दोस्रो चरणको प्रतिस्पर्धा मतगणना नहुँदै उनीहरु देउवा सभापतिमा निर्वाचित भइसकेको भावभङ्गीमा देखिन्थे । मत परिणाम अनुसार पनि देउवाले २७३३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वीमा शेखर कोइरालाले १८५५ मत पाए ।
देउवाले ८७८ मत ल्याएर कोइरालालाई पराजित गरेका थिए । मत गणनाका क्रममा पनि देउवाले सुरु देखिनै अग्रता बढाउँदै लगेपछि प्रतिस्पर्धा रोमाञ्चक बनेन । तर मतदानस्थलमा दिनभर बसेर मत मागेका देउवा पनि निर्वाचित हुँदा राष्ट्रियसभा गृहमा आउने अपेक्षा थियो । तर प्रधानमन्त्री समेत रहेका देउवा बालुवाटारबाट राष्ट्रिय सभागृहमा आएनन् । बधाई दिने नेताहरु बुधबार विहान बालुवाटार पुगे ।




