जुम्ला ः राष्ट्रिय प्रजातन्त्र पार्टीको (राप्रपा) आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको चुनावी सभा सम्बोधन गर्न नाइका तथा राप्रपा केन्द्रीय सदस्य जुम्ला आउने भएकी छन् । राप्रपा जुम्लाले बैशाख ६ र ७ गते तय गरेको चुनावी सभालाई सम्बोधन गर्न थापा बैशाख ५ गते नै जुम्ला आउने भएकी हुन् ।
राप्रपा जुम्लाले बैशाख ६ गते जुम्लाको प्रदेश (ख) क्षेत्रमा पर्ने सिंजा गाउँपालिकाको नराकोट र प्रदेश (क) क्षेत्रमा पर्ने यहाँको मुख्या बजार खलंगास्थित कृष्ण मन्दिरको प्राङ्गण चुनावी सभाको कार्यक्रम तय गरेको नगर अध्यक्ष अनुप थापाले बताए । उनले भने केन्द्रीय सदस्य थापासहित पार्टी प्रवक्ता तथा सुशासन विभागका अध्यक्ष ज्ञानेन्द्र शाहीलगायत अन्य ६ जनाको टोली जुम्ला आउने कार्यक्रम तय भएको छ ।
राप्रपाका केन्द्रीय भीमबहादुर शाहीले आफनो पार्टीबाट स्थानीय तहमा उम्मेदवार हुनेले भ्रष्टाचार तथा सामाजिक अपराध नगर्ने देउताको मन्दिरमा कसम खुवाएर मात्रै टिकट दिने बताएका छन् । ‘एउटा हातमा राजीनामाको कागज लिन्छौँ र अर्को हातमा टिकट दिन्छौ भ्रष्ट्राचार नगर्ने प्रतिबद्धता जनाउनै पर्छ,’ उनले भने ।
सोमबार जुम्लामा पत्रकार सम्मेलनमा सम्बोधन गर्दै भ्रष्टाचारले देश बर्बाद भएको बताए । राप्रपाले भ्रष्टाचार शून्यमा झार्ने र जनताका पक्षमा काम गर्ने उनको भनाइ थियो ।
निर्वाचनमा असल मान्छे र राम्रो पार्टीलाई विजयी नगराएसम्म जनताले दुःख पाइरहने उनले बताए । ‘निर्वाचन त्यस्तो अवसर हो जहाँ जनताले साँच्चै काम गर्ने मान्छे छान्ने अवसर पाउँछन्,’ उनले भने, ‘असल नीति भएको पार्टी र नेतालाई विजयी गराए जनतालाई सुख हुने र पैसाको प्रलोभनमा परे वर्षौंसम्म पछुताउन नपर्ने बताए ।’
जिल्ला अध्यक्ष बेदबहादुर शाहीले राप्रपाले आफ्नो पक्षमा जनमत बढेको जिकिर गरे । उनले भने त्यसमाथि अहिले राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाले गति लिईरहेको छ । यो देशमा धेरै पटक अरु राजनीतिक पार्टीले देश चलाए । उनले एक पटक पाँच वर्षका लागि राप्रपालाई मत दिएर हाम्रा मुद्दा र एजेन्डालाई जनतामाँझै लैजान दिन आग्रह गरे । सबै स्थानीय तहमा तलदेखि माथिसम्म सबै पदमा उम्मेदवारी दिने उनले बताए । उनले भने राप्रपा अहिले तीन वटा मुद्दा बोकेर अगाडी बढेको छ । हिन्दु राजसंस्था, सैवैधानिक राजसंस्था र भ्रष्टाचार अन्त्य गर्नुपर्दछ भन्ने मूल राप्रपाका एजेन्डा तथा मुद्दा रहेका छन् ।