जुम्ला । साउदीमा अलपत्र जुम्लाका ९ जना कामदारको उद्दार गरिएको छ । वैदेशीक रोजगारीका लागि साउदीमा पुगेको जुम्ला गुठिचौर गाउँपालिकाका वडा नंं. १ का ९ जना कामदार अलपत्र परेका थिए । महिना दिनदेखि उद्दारका लागि गुहार गरिरहेका ९ जना जुम्ली कामदारको उद्दार गरी आईतबार नेपाल फर्किदैछन् ।
गुठिचौर गाउँपालिका १ नम्बर वडाध्यक्ष अर्जुन कुमार महतारा,राप्रपाका केन्द्रिय प्रबक्ता ज्ञानेन्द्र शाही र राप्रपाका यूवा नेता अनुप थापाको पहल र अगुवाईमा साउदीमा अलपत्र ९ जना जुम्लाका कामदारको उद्दार गरिएको छ । प्रबक्ता तथा प्रतिनिधिसभा उम्मेदबार शाहीले उद्दारका लागि नेपाल र साउदीको राजदुतावास लगायत विभिन्न निकायमा पहल गरेका थिए ।
भने वडाध्यक्ष महतारा र यूवा नेता थापाले आर्थिक सकंलन गरेका थिए । तीनै जना यूवा नेताको साँझा पहलमा साउदीमा अलपत्र ९ जनाको उद्दार गरिएको अनुप थापाले बताए । उनका अनुसार कहाँबाट कसले कति आर्थिक सहयोग गरेको भन्ने एकिन भइ नसकेकोले त्यसबारे पछि खुलाईने छ ।
साउदीमा अलपत्र पर्नेमा गोठिचौर गाउपालिका वडा नम्बर १ का निराजन थापा, डिलबहादुर रोकाय, शान्त बहादुर रोकाय, खडग रोकाय, लक्ष्मी बहादुर रोकाय,प्रताप लामा, एकराज ऐडि,आनन्द रोकाय,जनक बुढा रहेका छन ।
वडाध्यक्ष महताराले भने,“राम्रो तलव दिने कुनै गडबढ नहुने भनी नेपालबाट ‘व्लु ग्यालेक्सी’ कम्पनीले साउदी पठाएको रहेछ । तर साउदीमा ‘क्यू सिएम’ कम्पनीले जुन काम र तलब दिन्छु भनी लिएको थियो त्यो काममा नलगाएर अर्कै काममा लगाई तलब पनि नदिँदा अलपत्र परेका ९ जना जुम्ली नागरिकको उद्दार गरेका छौ ।”
नेपालबाट बैँक क्लिनर र हस्पिटल क्लिनरको रुपमा पठाइएपनि आर्मी व्यारेकमा काम लगाइदिएको थियो । एकहजार साउदी तलब दिने भनिएपनि आठ सय मात्रै दिएको त्यो पनि पुरा नदिएपछि महिनादिन देखि साउदीमा जुम्ली कामदार अलपत्र रहेको यूवा नेता अनुप थापाले बताए । उनका अनुसार राज दुतावास पहलदेखि टिकट व्यवस्थापनमा समेत ज्ञानेन्द्र शाहीले गरेका थिए ।
उनीहरुले आठ महिना काम गरेकोमा जम्मा ६ महिना बराबरको तलव पाएको गुनासो गरका छन् । उनीहरु सबै जना ११ सेप्टेम्बरमा नेपाल आइपुग्ने छन । नेपाल आईसकेपछि ‘व्लु ग्यालेक्सी’ मेनपावर कम्पनी बिरुद्ध वडाअध्यक्ष महताराको नेतृत्वमा उजुरी दिने समेत तयारी भईरहेको छ ।
उद्दारपछि नेपाल आउने पक्का भएपछि साउदीमा अलपत्र जुम्ली कामदार खुसी भएका छन् । अब जुम्लाकै केहि इलम गरेर बस्ने समेत उनीहरुको भनाई छ । आइतबार साँझ नेपाल पुग्दैछन् ।