जुम्ला- महिला स्वयंसेविका अहिले गाउँका डाक्टर जस्तै छन् । गाउँमा कोही बिरामी हुँदा वा महिला सुत्केरी ब्यथा लाग्दा पहिलो महिला स्वयंसेविकासँग सम्पर्क हुन्छ । बिरामीले स्वयंसेविका पछ्याउने र स्वयंसेविकाले पनि बिरामी पछ्याउँदै आएका हुन्छन् ।
डिजिटल प्रविधिको दुनियाँमा पूरानै परम्परागत रुपमै व्यक्ति-व्यक्तिबाट खबर आदान-प्रदान गरिने गरिन्थ्यो । यस्तै समस्यालाई मध्यनजर गर्दै तातोपानी गाउँपालिकाले गाउँका डाक्टर महिला स्वयंसेविकासँग सम्पर्क गर्न मोबाइल वितरण गरिएको छ । बिरामी र महिला स्वयंसेविका बीच सूचना प्रवाह गर्न सजिलो भन्ने उद्देश्यका साथ मोबाइल वितरण गरेको हो । तातोपानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईका अनुसार सूचना प्रभावकारी गर्नका लागि सादा मोबाइल सेट वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईमार्फत महिला स्वयंसेविकालाई मोबाइल वितरण गरेका हुन् । तातोपानी गाउँपालिका वडा नम्बर १–८ का ६७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई नै मोबाइल वितरण गरिएको हो ।
महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य क्षेत्रमा काम गर्ने क्रममा सूचना आदान-प्रदान गर्न गाउँपालिकाकै नाममा सिम निकालेर प्रदान गरिएको हो । स्वयंसेविका काली शाहीले गाउँपालिकाले यो सेवा उपलब्ध गरिएकोले सूचना प्रवाहमा सहज हुने बताइन् । नेपाल सरकार र स्थानीय सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको जीवनयापनको विषयमा ध्यान दिन उनले आग्रह गरिन् । मासिक ५ सय खाना, खाजा, यातायातका लागि सहयोग गर्दै आएको र संघीय सरकारले वर्षेनी पोसाकसहित २२ हजार उपलब्ध गराउँदै आएको तातोपानी गाउँपालिका जुम्लाले जनाएको छ ।