०८३ कार्तिक २ गते सकेट बम विस्फोट भएको जुम्लाको ओदी गाउँ
जुम्ला – हिमा गाउँपालिका–२ ओदीगाउँका १४ वर्षीय बालकको सकेट बम विस्फोट हुँदा दायाँ खुट्टा गुमेको छ । जसले गर्दा उनले अनाकमा खुट्टा गुमाए । उनी अपांगता भए । द्वन्द्वकालीन समयमा छाडिएको विस्फोटक पदार्थ व्यवस्थापन नहुँदा ०८३ कात्तिक २ गते भएको घटनामा बालक गम्भीर घाइते भएका हुन् ।
छिमेकीको घरमा धारा निर्माणका लागि ल्याइएको करिब एक मिटर लामो जिआई पाइप काट्ने क्रममा विस्फोट भएको थियो। पाइपजस्तो देखिने वस्तु सकेट बम भएको कुरा विस्फोट भएपछि मात्रै बालकले थाहा पाएको परिवारले जनाएको छ ।
विस्फोटबाट दायाँ खुट्टाको गोलीगाँठादेखिको भागमा गम्भीर चोट लागेका बालकलाई घटनालगत्तै उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्ला ल्याइएको थियो । उपचारबाट निको हुने सम्भावना नदेखिएपछि चिकित्सकले शल्यक्रिया गरी खुट्टा काटेर फाल्नुपरेको उनका बुवा दलबहादुर रोकायाले बताए ।
दुई छोरा र एक छोरीमध्येका बालक कक्षा ६ मा अध्ययनरत छन् । खुट्टा गुमाएपछि उनको भविष्य र पढाइसमेत प्रभावित हुने अवस्था सिर्जना भएको छ । घटनापछि उनी निरन्तर अस्पतालमै उपचाररत छन् । लामो समयसम्म उपचार गर्नुपर्ने भए पनि परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचार खर्च जुटाउन कठिनाइ भएको स्थानीय धिरेन्द्र रोकायाले बताए । उनले बालकको उपचारका लागि सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।
हिमा गाउँपालिका–२ का वडाध्यक्ष हरिबहादुर रोकायाले घटनाले द्वन्द्वकालीन विस्फोटक पदार्थको जोखिम अझै कायम रहेको पुष्टि गरेको बताए । ‘त्यतिबेला विस्फोटक पदार्थको उचित व्यवस्थापन नहुँदा अहिले एउटा बालकले खुट्टा गुमाउनुपर्ने अवस्था आयो,’ उनले भने, ‘राज्यले यस्ता विस्फोटक पदार्थको खोजी गरी सुरक्षित व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।’
वडाध्यक्ष रोकायाका अनुसार जिल्लामा यसअघि पनि यस्ता प्रकृतिका घटना हुने गरेका छन् । विस्फोटक पदार्थको जोखिमबाट बच्न नागरिकसमेत सचेत हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
यसैबीच, बालकको उपचारका लागि हिमा गाउँपालिकाले ५० हजार रुपियाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । यस्तै, चन्दननाथ नगरपालिका–७ मिचागाउँ स्थायी घर भई हाल अस्ट्रेलियामा बस्दै आउनुभएका शैलेन्द्र खत्रीले १० हजार ५ सय ५६ रुपियाँ सहयोग गरेका छन् । शैलेन्द्र केही वर्ष अघि त्यही ओदी गाउँको विद्यालयमा अध्यापन गराउन्थे । हाल अस्टेलियामा रहेका छन् ।
सकेट बम विस्फोटपछि अपांगता भएका बालक एक महिनापछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् ।
द्वन्द्वकालमा प्रयोग भएका विस्फोटक पदार्थको उचित खोजी तथा व्यवस्थापन हुन नसक्दा सर्वसाधारणको ज्यान र अंग जोखिममा पर्दै आएको यस घटनाले द्वन्द्वका अवशेष व्यवस्थापनमा राज्यको जिम्मेवारीमाथि पुनः प्रश्न उठाएको छ ।




