जुम्लामा बास नेपालको भ्रष्टचारमुक्त अभियानःनागरिक सचेतना बृद्धिमा जोड

जुम्ला । बढ्दो भ्रष्टचार नियन्त्रण तथा रोकथामका लागि जुम्लामा ‘भ्रष्टचार विरुद्धको शुन्य सहनशीलता अभियान’ थालिएको छ । स्थानीयतह,विषयगत कार्यालय लगायत अन्य सार्वजानिक निकायको सेवा प्रवाह र विकासमा हुने भ्रष्टचारलाई रोक्न शुन्य सहनशीलता अभियान थालिएको हो ।

जुम्लाका यूवा सम्मेलित बागेश्वरी असल शासन क्लब (बास) नेपाल संस्थाले जिल्लाभर भ्रष्टचार रोक्न अभियान थाल्ने बासकी अध्यक्ष अनिता नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो,“अख्तियारको प्रतिनिधि निकायका रुपमा प्रशासनलाई साथ लिएर सबै स्थानीयतहमा भ्रष्टचार विरुद्धको शुन्य सहनशीलता अभियान थालिने छ । नागरिक सचेतनामा जोड दिदै विकास र सेवा प्रवाहका नाममा हुने भ्रष्टचारलाई शुन्यमा झार्ने दुर्गामी लक्ष्य राखिएको छ ।”

गाउँमा भ्रष्टचार विरुद्धको अभियान चलाउने,सार्वजानिक सेवा प्रवाहमा नागरिकको पहुँच बृद्धि गर्ने,भ्रष्टचार विरुद्ध जनमत सृजना गर्ने,भ्रष्टचार गर्ने व्यक्ति र निकाय विरुद्ध कानुनी शुन्य सहनशीलता कायम गरिने अध्यक्ष नेपालीको भनाई छ ।

उनका अनुसार भ्रष्टचारमुक्त समुन्नत समाज निर्माण गर्ने,जनसहभागितालाई बृद्धि गर्ने,पारदर्शीता र जवाफदेहिता विकासका लागि काम गरिने छ । संघियतापछि स्थानीय तथा प्रदेश सरकारको कार्यशैलीबाट नागरिक असुन्तष्ट छन् । भ्रष्टचार पनि उत्तिकै बढेको गुनासो छ । तर नागरिक सचेत नभएसम्म भ्रष्टचार नरोकिने प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले बताउनुभयो।

मंगलबार जुम्लामा बास नेपालद्धारा आयोजित भ्रष्टचार विरुद्धको शुद्धीकरण कार्यक्रमलाई संबोधन गर्दै प्रजिअ केसरीले नागरिकको सचेतना बिना आर्थिक सुशासन कायम र भ्रष्टचार निवारण असम्भव रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,“एउटा कुनै व्यक्ति र संस्थाले चाहेर भ्रष्टचार रोकिदैन् । सबै संयन्त्र चुस्त हुनुपर्छ । नागरिक सचेत बन्नुपर्छ । विकासमा हुने आर्थिक भ्रष्टचार निवारण तर्फमात्र नभई सेवा प्रवाहमा हुने भ्रष्टचार र ढिलासुस्तीका विरुद्धमा नागरिक सचेत हुन जरुरी छ ।”

गाउँमा निर्माण हुने हरेक योजनाको भुक्तानी हुनु पहिले अनिवार्य सार्वजानिक सुनुवाई गरेको हुनुपर्ने, सुनुवाई,सामाजिक परिक्षण गर्नुपर्ने,आयोजना सूचना पार्टी राखेको हुनुपर्ने, स्टमेट अनुसार गुणस्तर काम हुनु पर्छ । तिनै सुशासन कायम र भ्रष्टचार निवारणका सूचक हुन् । तर उपभोक्ताहरु कुनै सूचक पुरा गरेको स्थिती छैन् ।

त्यसैले गाउँगाउँमा भ्रष्टचार विरुद्धको शुन्य सहनशीलता अभियान चलाउन जरुरी रहेको उहाँको भनाई छ ।

गाउँमा विकास गर्ने हैन् खाने हो भन्ने पद्धत्तीको विकास भएको छ । विकास र सेवा प्रवाहका नाममा अनुउचित लाभ लिने,प्रक्रिया पुगेपनि कतिपय अबस्था सेवा दिन ढिलासुस्ती गर्ने,सरकारी सवारीको दुरुपयोग गर्ने जस्ता कुनै पनि घटना भएको खण्डमा सिधै प्रशासनमा उजुरी गर्न प्रजिअ केसरीले आग्रह गर्नुभयो ।

बागेश्वरी असल शासन क्लब (बास) नेपाल जुम्लामा मंगलबारदेखि आधिकारी रुपमा दर्ता प्रक्रिया गई जुम्लालाई भ्रष्टचारमुक्त जिल्ला बनाउने अभियान थालेको हो । बास नेपाल २०५७ सालदेखि भ्रष्टचार निवारण,यूवा सशक्तिकरणका लागि काम गर्दै आएको छ ।

मुलुकमा बढेको आर्थिक संकट,बजारमा बढेको कालो बजारी,विकासमा भएको मनपरी,सेवा प्रवाहमा भईरहेको ढिलासुस्ती सबै भ्रष्टचारका कारक हुन् । नागरिकलाई सुशासनको प्रत्याभुति दिलाउन र आर्थिक सुशासन कायम गरी भ्रष्टचारमुक्त समाज निर्माण गर्न नागरिक अगुवा,प्रशासन सहित सबै संयन्त्रबीच क्रियाशील एकता हुन जरुरी छ ।

 

प्रकाशित मिति : २०७९ चैत्र १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस