तिलाले बालविकास पञ्चवर्षीय रणनीतिक योजना बनाउँदै


जुम्ला ः जुम्लाको तिला गाउँपालिकाले पालिका भित्रका बालअधिकार सुनिश्चत गर्नेका लागि पञ्चवर्षीय रणनीतिक योजना निर्माणमा जुटेको छ । बाल अधिकारका सवाललाई सम्बोधन गर्न पञ्चवर्षीय रणनीतिक योजना बनाउनु थालिको हो ।

बालबालिकाको क्षेत्रमा काम गर्ने जुनसुकै निकाय तथा संघसंस्थासंग सहकार्य र समन्वय गरी बालविकास पञ्चवर्षीय रणनीतिक योजना बनाउने थालिएको गाउँपालिका उपप्रमुख गोरीकला बुढाले बताइन् । उनले भनिन् पालिका भित्रका ९ वटै वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने विषयमा पनि छलफल गरिएको छ । आउने वर्षको नीति तथा कार्यक्रममा बालबालिका हक अधिकारलाई सुनिश्चित गर्नेका लागि उनीहरुका मागलाई सम्बोधन गरिने भएको छ । यसका लागि आवश्यक सबै सूचकहरू पूराभए नभएको बारे दुई दिने बालबालिका सम्बन्धी पञ्चवर्षीय रणनीतिक योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठी समेत गरिएको उपाध्यक्ष बुढाको भनाइ छ ।

पालिकाले पुरा गर्नुपर्ने ५१ वटा सूचकहरु पुरा गरेपछि पालिकालाई बालमैत्री वडा घोषण गरिने प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर विष्टले बताए । बालबालिकालाई श्रम गराउने, शिक्षाबाट वञ्चित गराउने, विभिन्न कार्यमा खटाउने, लागूपदार्थ दुव्र्यसन र मादक पदार्थ किनबेच तथा प्रयोगमा सामेल गराउने जस्ता अवाञ्छित क्रियाकलापलाई कानुनी कारबाहीको दायरामा ल्याउन सबैको सहयोग आवश्यक रहेको किर्डाक नेपाल जुम्लाका बाल संरक्षण अधिकृत श्रीराम थापाले बताए ।
बालबालिकाको अधिकारलाई सुनिश्चित गर्न स्थानीय सरकारको प्रमुख जिम्मेवारी रहेको छ । देश विकासदेखी समाजको आधार निर्माण गर्नेका लागि पालिकाभित्रका बालबालिकाको अधिकार, कर्तव्य र दायित्वलाई सुनिश्चित गर्न अभिभावक, शिक्षक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, संचारकर्मी, संघसंस्थाका प्रतिनिधि, आमनागरिक सबै सचेत भएर अघि बढ्नुपर्ने तिला गाउँपालिकाले जनाएको छ । सो दुई दिने गोष्ठीमा पालिकाका कर्मचारी, जनप्रतिनिधि र पत्रकारको सहभागी रहेको थियो । दुई दिने गोष्ठीको सहजीकरण नेत्रकला शाहीले गरेकी हुन् ।

 

 

प्रकाशित मिति : २०८० बैशाख ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस