व्यवसायीक खेती गरेका जुम्लाका यूवा किसान । तस्बिरः सागर परियार
जुम्ला । जुम्लाको हिउँदे कृषि क्यालेण्डरनुसार मंसिरमा गहुँ जौँ रोपेपछि पुष दोस्रो साता अनिवार्य हिउँ पर्नै पर्ने मान्यता छ । पुषमा परेको हिउँले कृषि उत्पादन बढ्ने,स्याउ बगैचालाई समेत प्रयाप्त सिँचाई पुग्ने गर्छ । तर ६÷७ वर्ष पहिलेसम्म वर्षेनि पुष महिनामै भारी हिमपात हुने कर्णालीमा पछिल्लो ३÷४ वर्ष यता जलवायू परिवर्तनले हिमपात ढिला हुने भएपनि निकै कम हुने हिमपातले कृषि उत्पादन घट्दै गएको छ । भने परनिभर्रता बढ्दै गएको छ ।
यसो त कर्णालीमा वर्षेनी ३ लाख मेट्रिकटन खाद्यन्न अभाव हुने सरकारी तथ्यांक छ । आफ्नै उत्पादनले ५÷६ महिना राम्ररी नपुग्ने कर्णालीका नागरिक सरकारी अनुदानकै चामलमा निर्भर छन् । त्यसैमाथि पछिल्ला वर्षमा हिउँदमा समयमै हिउँ नपर्ने,ढिला परेपनि कम पर्ने,वर्खामा समयमै वर्षात नभई खडेरी पर्नाले वर्षेनी कृषि उत्पादन घट्दै गएको सरकारी तथ्यांकले देखाएको छ ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाको प्रारम्भीक तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा ६४ सय मेट्रिकटन धान सहित चिनो कागुनो,कोदो फापर जौ,गहुँ उवा गरी ३४ हजार ४६ मेट्रिकटन खाद्यन्नबाली उत्पादन भएको देखिन्छ । गत साल बाढी पहिरो र रोग किराले जुम्लाको कृषि क्षेत्रमा ठुलो क्षति गरेकोले तथ्यांक घट्न सक्ने अनुमान छ । गत आवमा दलनबाली तर्फ ३१ सय ७७ मेट्रिकटन मात्रै उत्पादन भएको थियो ।
त्यस्तै, आ.व.०७५ देखि ०७६ साल अहिलेसम्मकै धेरै ३० हजार १ सय १३ मेट्रिकटन भन्दा बढी रैथाने खाद्यान्न बाली उत्पादन भएको तथ्याङ्क छ । भने, आ.व.०७६÷७७ मा करिब १५ हजार मेट्रिकटन, आ.व.०७७÷७८ मा १२ हजार ३ सय ८ मेट्रिकटन मात्रै रैथाने बाली उत्पादन भएको थियो । जबकि, अघिल्ला तर ३÷४ वर्षयता भने लगभग १३ देखि १४ हजार मेट्रिकटनले उत्पादन घटेर पछिल्ला वर्ष आव आ.व.०७८÷७९ मा १५ हजार मेट्रिकटन मात्रै रैथाने खाद्यबाली उत्पादन भएको कृषि विकास कार्यालयको तथ्यांक छ ।
आ.व.०७९÷८० मा उत्पादन बढेको देखिएपनि तथ्यांक एकिन हुन बाँकी छ । सरकारी तथ्याङ्क हेर्दा जुम्ली रैथाने बाली उत्पादन घट्दै गएको र परनिर्भरता बढ्दै गएको स्पष्ट हुन्छ । हिउँदमा समयमै हिउँ नपर्ने र वर्खामा प्रयाप्त वर्षाद नहुने र बेमौसमी वर्षा हुने जस्ता समस्याले जुम्लामा उत्पादन वर्षेनी घट्दो मात्रामा रहेको जिल्ला कृषि विकास कार्यालय जुम्लाका कृषि अधिकृत किरण न्यौपाने बताउँछन् ।

उनी भन्छन,‘कर्णालीमा आफ्नै उत्पादनले ५÷६ महिना राम्ररी पुग्दैन् । वर्षेनी उत्पादन घट्दै गएको छ । आयात खानामा निर्भर हुनु कर्णालीबासीको बाध्यता छ । किसानले मेहनत गरेपनि मौसमले साथ नदिँदा घाटा व्यवहोर्दै आएका छन् । यस वर्ष भारी हिउँ परेन् । हिउँदे बाली संगै स्याउको उत्पादनमा उल्लेखीय गिरावट आउने निश्चित छ ।’
जुम्लाको कुल खेतीयोग्य जमिन ३८ हजार ७ सय ८६ हेक्टर मध्य ३६ हजार ४ सय ३५ हेक्टरमा खेती भईरहेको छ । त्यसमध्य ३ हजार ६ सय ५० हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाई सुविधा पुगेको कृषि अधिकृत न्यौपानले बताए ।
राष्ट्यि तथा अन्तराष्ट्यि बजारमा माग बढ्दै गएको जुम्ली रैथानेबाली (मार्सीधानको चामल,सिमि,कोदो,फापर,चिनो मकै,काँगुनो,गहत,जौ गहुँ लगायतका थुप्रै खाद्यन्न बालीको उत्पादन घट्दै गएको छ ।
युवालाई कृषिमा प्रेरित गर्ने नीति नहुनु, तीनै तहका सरकारले कृषिमा पर्याप्त लगानी नगर्नु, जलवायु परिवर्तनले समयमै हिमपात र वर्षात नहुनुले उत्पादन घट्नु र प्राकृतिक प्रकोप बालीमा क्षति गर्नु लगायतका कारणले खाद्यान्न उत्पादन घट्दै गएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए ।

उनले भने,‘जुम्लामा स्याउ, सिमि, ओखर, मार्सी धान लगायतका बालीको उत्पादकत्व वृद्धि भएपनि प्राकृतिक प्रकोपले उत्पादन घट्दो क्रममा छ । आफ्नो उत्पादनले ५ महिना धान्न मुस्किल हुने जुम्लामा आयातित खाद्यन्नकै भर छ । त्यो परनिर्भरता अन्त्य गर्नका लागि उत्पादनमुखी कार्यक्रम जरुरी छ ।’
आफ्नो उत्पादनले पुग्दैन्,आयातित खाद्यन्नकै भर
पातारासी गाउँपालिका ७ रिनि गाउँका शेर बुढाको परिवार आफ्नै उत्पादनले ४÷५ महिना मात्रै पालिन्छन् । स्याउ बेचेको पैसा, घरमै उत्पादन भएको अन्नपातले उनको परिवारलाई बढिमा ५ महिनामात्रै धान्न छ । बाँकि महिना बजारमा पाईने आयातित खाद्यन्ननै खान्छन । विगत २÷३ वर्षयता हिउँदमा समयमै हिउँ नपर्ने,वर्खामा समयमै पानी नपर्ने समस्याले बालीनाली नसप्रिय पछि उत्पादन घटेको बताउछन् ।
उनीभन्छन,‘२÷३ वर्ष पहिलेसम्म १०÷१२ बोरी आलुवा,१०÷१२ बोरी मकै,जौ,हुँ त्यतिकै उत्पादन हुन्थ्यो । त्यहि उत्पादनले ४÷५ महिना परिवार पालिन्थ्यो । तर पछिल्ला वर्षमा समयमै हिउँ नर्पनाले उत्पादन घटेको छ । ५÷६ बोरीभन्दाबढी उत्पादन बढ्दैन् । बजारको महंगो चामल खान बाध्य छौ ।’ स्याउ बेचेको पैसा परिवार चलाउने शेर बहादुरलाई यसवर्ष हिउँ नपरेपछि विरुवालाई सिँचाइ नपुग्ने र उत्पादन घट्ने पिरले अझै सताएको छ ।

यसवर्ष प्रयाप्त हिँउ नपर्दा लेकाली र खेताली बाली सुक्न थालेपछि उत्पादन घट्ने पिरले उता तातोपानी गाउँपालिका वडा नं २ का किसान दत्त बुढाउनलाई सताएको छ । उनी भन्छन,‘मार्सिधान मात्रै १४÷१५ बोरा उत्पादन हुन्थ्यो ०७९ असोजको बेमौसमी बाढीले खेत बगाएपछि ५÷७ बोरा धान मुस्किलले उत्पादन हुन्छ । विगतमा पुसमै हिउँ पथ्र्यो,बाली सप्रिन्थ्यो । यो वर्ष माघमा परेको हिउँ एकै छिनमा बिलायो । गहुँ जौको उत्पादन घट्ने,स्याउ बगैँचा काँटछाँट नहुँदा उत्पादन घट्ने भईहाल्यो । परिवार पाल्न अब सरकारी अनुदानको चामल खानुको विकल्प छैन् ।’
१९ हजार घरधुरी रहेको जुम्लामा १ लाख २० हजार जनसख्ंया छ । १९ हजार घरधुरीमध्य अधिकांशको मुख्य पेशा कृषि हो । तर कसैलाई आफ्नै उत्पादनले वर्षदिन पुग्दैन् । वर्षेनी उत्पादन घट्दै जाने र उत्पादीत वस्तुले ५ महिना नधान्ने समस्याले जुम्लामा अहिले पनि सरकारी अनुदानको नुन चामल पाउन गोदामनै तोडफोड गर्नुपर्ने अबस्था छ ।
जुम्लाका बरिष्ठ किसान रामकृष्ण बुढ्थापा भन्छन,‘उत्पादन हुने ठाउँ मात्रै भएर भएन् । काम गर्ने जनशक्ति चाहियो । यूवा सबै खाडीमा छन् । आफ्नो उत्पादनले वर्षभरी पुग्दैन् । सरकारको नीति बजेट उत्पादन मुखी हुनुको साटो वितरण मुखी छ । परिणाम स्वरुप अहिले पनि जुम्लामा अनुदानको चामल पाउन ज्यान दाउँमा लगाउनु पर्ने अबस्था छ । कृषि प्रधान देशको विडम्बना यहि हो ।’



