स्याउको परिकार बनाउन किसानलाई तालिमसंगै प्रविधि

जुम्ला । जुम्लाको स्याउ दाना निर्यातमै सिमित छ । स्याउबाट विभिन्न परिकार बनाउने थुप्रै सम्भावना हुँदा पनि सिप र प्रविधिको अभावले किसानदेखी सरोकारवालाले निर्यातनै बढी जोडबल गरेको देखिन्छ । जसका कारण स्याउको सम्भावनाहरु आम्दानी,रोजगारी सृजना तथा जीविकोपार्जन हुन सकेको छैन् ।

जति स्याउ निर्यातबाट आम्दानी हुन्छ, त्यो भन्दा दोब्बर आम्दानी स्याउको परिकार बनाउँदा हुन्छ । तर परिकार बनाउन प्रशोधन उद्योग स्थापनादेखी किसानलाई सिप र आबश्यक प्रविधि हस्तान्तरण सरकार चुकिरहेको छ । तर जुम्लामा किर्डाक नेपालले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय संग समन्वय गरी किसानलाई स्याउबाट विभिन्न परिकार बनाउने तालिम र तथा आबश्यक प्रविधिहरु हस्तान्तरण गरेको छ । जुम्लाको अर्गानिक स्याउको ब्राण्डिङ संगै आम्दानी बृद्धि गर्न स्याउबाट विभिन्न परिकार बनाउने चार दिनको तालिम दिइएको हो ।

तालिममा सहभागि जिल्लाका किसानले साईडर, क्यान्डि, अचार, चाना, माडा, जाम, आलु चिप्स, टमाटर सस लगायतका परिकार बनाउन सिकेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन जुम्लाका प्रमुख सुवास तिमिल्सिनाले परिका बनाउन सिकाएका थिए ।

तालिमको समापनसंगै बुधबार सहभागी किसानहरुलाई परिकार बनाउने तालिम पनि उपलब्ध गराइएको छ । प्रति किसानलाई १० हजार बराबरको परिकार बनाउने सामाग्री उपलब्ध गराइएको किर्डाक नेपालका कार्यक्रम संयोजक शिवराज कार्कीले जानकारी दिए ।

तालिमपछि उत्कृष्ट काम गर्ने किसानलाई पछिल्ला वर्षमा थप सहयोग गरिने बताए । यदपी तालिम र प्रविधि लिएर थन्काउने किसानलाई कुनै पनि कार्यक्रममा नसमेटिने छैन् । यतिबेला स्याउको सिजन भएकाले किसानले सिकेको सिपबाट परिकार बनाउन, खाली नबसुन भनेर सामाग्री पनि दिइएको उनको भनाई छ । १० हजारका दरले १५ जना किसानलाई ७ प्रकारका सामाग्री उपलब्ध गराइएको छ ।

किसान लंकनाथ योगीले सिप सिकेसंगै स्याउबाटै परिकार बनाएर थप आम्दानी गर्न सकिने आशा पलाएको बताए । उनले भने,‘विगतमा व्यापारीले नलिएका साना स्याउ कुहिएर फाल्ने गर्थेउ । अब विक्री नभएको स्याउको विभिन्न परिकार बनाएर बजारमा विक्री गर्ने आँट आएको छ । सिपसंगै प्रविधि पनि पाएपछि निकै सहज हुने छ ।’

महिला किसान झयापु नेपालीले पनि सिपको अधिकतम् प्रयोग गरी फलफूलको परिकार बनाउने प्रतिबद्धता व्यक्त गरिन् । यता कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जुम्लाका किसानदेखी व्यापारीहरुले स्याउका दाना बेचेर मात्रै समृद्धी नहुने भएकाले अब परिकार बनाउन कृन्द्रित हुनु पर्ने बताए । ‘स्याउका कार्टुन मात्रै बेच्न सिमित भएमा प्रगती हुदैन्’,उनले भने,‘अब पकिार बनाउन थालेपछि रोजगारी सृजना हुन्छ । प्रशोधन उद्योग खोलिन्छन् । यसले समग्रमा समुदायको हित हुन्छ । परिकार बनाउन तिर लगानी गर्न जरुरी छ ।’

समयको आबश्यकता अनुसार किर्डाक नेपालले दिएको तालिम निकै महत्वपूर्ण रहेको छ । । बजारीकरणदेखी प्रशोधनको अभाव, सिपको कमी रहेको भन्ने किसानको गुनासो थियो । यो तालिमले यी गुनासाको सबोधन भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सुवास तिमिल्सीनाले बताए ।

प्रकाशित मिति : २०८३ भाद्र १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस