जुम्ला । । नेपाल तरुण दल जुम्लाको नयाँ नेतृत्व चयनका लागि अन्ततः निर्वाचन हुने भएको छ । सहमति प्रक्रियाबाट नेतृत्व चयन गर्ने प्रयास गरेपनि आँकाक्षीहरु सहमतीमा नआएपछि निर्वाचन हुने भएको हो । नेपाल तरुण दल जुम्लाको पाँचौ जिल्ला अधिवेशन साउन ९ गते उद्घाटन भएको थियो ।
अध्यक्ष सहित अन्य पदाधिकारीका आँकाक्षीहरु धेरै भएपछि सहमतीबाट नेतृत्व छान्न तीन सदस्यीय समिति बनाइएको थियो । उक्त समितिले धेरै प्रयास गरेपनि अध्यक्ष सहितका अन्य पदाधिकारीका आंकाक्षीहरु समेत सहमती आउन टसमसनभै नभएपछि निर्वाचन हुने भएको नेपाली काँग्रेस जुम्लाले जनाएको छ ।
नेपाली काँग्रेस जुम्लाका पार्टी सचिव अर्जुनसिंह कठायतले दिएको जानकारी अनुसार विहिबार बसेको काँग्रेस पदाधिकारी स्तरीय बैंठकले निर्वाचन मण्डललाई यथाशिघ्र निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिने निर्णय गरेको छ । उनका अनुसार अब नेपाल तरुण दलको नयाँ नेतृत्व कसले गर्ने भन्ने कुरा चुनावी परिणामले मात्रै देखाउने छ ।
एक साता लामो समय बितिसक्दा पनि सहमती जुट्न नसक्दा काँग्रेस पार्टी चुनावी बाटो रोज्न बाध्य भएको हो । अध्यक्ष सहित अन्य पदाधिकारीका उम्मेदवारहरुले पार्टी चुनाव गर्ने निर्णयलाई सकरात्मक रुपमा लिएका छन् । प्रजातन्त्रीक पार्टीमा निर्वाचनबाट नेतृत्व छान्नु सबैका लागि उदारहण हुने समेत बताइएको छ ।



