पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा बन्द, आपूर्ति ठप्प

 समाचार सारांश

  • सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ, जसले गर्दा चीनबाट हुने आपूर्ति ठप्प भएको छ।
  • सडक अवरुद्ध हुँदा चीनमा रोकिएका कन्टेनरहरू आउन सकेका छैनन्, र नेपाल भित्रिएका कन्टेनरहरू पनि बाटोमै अलपत्र परेका छन्, जसले व्यवसायीहरूलाई समस्या पारेको छ।
  • व्यवसायीहरूले सरकारलाई समस्याबारे जानकारी गराउँदा पनि चासो नदिइएको गुनासो गरेका छन्, जसले गर्दा चाडपर्वको समयमा बजारमा महँगी बढ्ने सम्भावना रहेको छ।

काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा पहिरो जाँदा १० दिनदेखि अरनिको राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै चीनबाट नेपालतर्फको आपूर्ति ठप्प बनेको छ ।
करिब दुई किलोमिटर सडक अवरुद्ध हुँदा स्थानीयलाई समेत आवतजावत गर्न समस्या भएको छ ।

गत असार २४ गते चीनतर्फबाट आएको बाढीले रसुवाको केरुङ नाका बन्द भएपछि अधिकांश व्यवसायीले तातोपानी नाकाबाट सामान ल्याउन थालेका थिए । तर यो सडक पनि अवरुद्ध भएपछि चीनमा सामान लोड गरेर राखिएका करिब ६ सय कन्टेनर नेपाल आउन नसकेको व्यवसायीहरूको गुनासो छ ।

पहिरोका कारण नेपाल भित्रिसकेका कन्टेनर पनि बाटोमै अलपत्र छन् । अहिले व्यवसायीहरूले फलफूल र तरकारी बोकेका कन्टेनरबाट भरियामार्फत सामान बोकाएर पहिरो पार गराउन थालेका छन् ।

इकोमा लेदो बगिरहेकाले सडक खुलाउन नसकिएको भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए । उनले बस्ती जोगाएर सडक सञ्चालन गर्नुपर्ने बताए । ‘हाम्रो पहिलो प्राथमिकता पहिरोमाथि रहेको बस्ती जोगाउनु हो,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘त्यसपछि ट्रयाक मात्र भए पनि खोलेर सडक सञ्चालनमा ल्याउनु हो ।’

‘सरकारलाई तातोपानी नाका र यहाँको समस्याबारे जानकारी गराउँदा पनि चासो दिइएन,’ नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका अध्यक्ष अर्जुन सापकोटाले भने, ‘पहिरो पन्छाउन एउटा टिपर र स्काभेटरले मात्रै हुँदैन । सङ्घीय सरकारले नाका खोल्नुपर्छ भनेर लाग्नुपर्‍यो ।’

सडक नखुल्दा नजिकिँदै गरेको चाडपर्वका लागि समयमा सामान नआउँदा बजारमा महँगी बढ्ने देखिएको छ ।

आफूहरूले सडक खुलाउनका लागि सङ्घीय अर्थमन्त्री, भौतिक पूर्वाधार मन्त्री र भन्सार विभाग प्रमुखलाई भेटेर आग्रह गरेको नेपाल हिमालय वाणिज्य व्यापार सङ्घका महासचिव रामचन्द्र पराजुलीले बताए । ‘रसुवा बन्द भएपछि तातोपानी नाकाबाट व्यवसाय गर्न सुझाइयो तर यहाँ पनि सडकको समस्या थपिएर झनै अप्ठ्यारो परेको छ,’ महासचिव पराजुलीले भने ।

राज्यले सडक खुलाउन चासो नदिँदा आफूहरू मारमा परेको सिल्क ट्रान्सपोर्टका निर्देशक विजय शेर्पाले बताए । ‘राज्यले सडक खुलाउन चासो नै दिएन । हामी निकै मारमा परेका छौँ । सङ्घीय सरकारले ध्यान दिएन । हाम्रो समस्या कसले सुन्ने ?’ शेर्पाले प्रश्न गरे ।

चीनबाट फलफूलको व्यवसाय गर्दै आएकी व्यवसायी शारदा पराजुलीले सडक नखुल्दा आफूहरू अत्यन्तै समस्यामा परेको बताइन् । ‘हाम्रा फलफूल लोड भएर बसेका कन्टेनर चीनमा अड्किएका छन्, कतिपय नेपाल नै आइसकेका छन् । अब ती कुहिने अवस्थामा छन्,’ पराजुलीले भनिन्, ‘व्यवसायीले कन्टेनरबाट स्याउ, आँप, अङ्गुर, लसुन, प्याजजस्ता सामान कुहिन थालेपछि बोकाएर पहिरो पार गराएर भन्सार यार्डमा राख्न थालेका छन् ।’ 

सडक खुलाउन प्रयास गर्दागर्दै पनि लेदो बगिरहेकाले सफल हुन नसकिएको सडक डिभिजन कार्यालय, चरिकोटका प्रमुख अमित कुमार श्रेष्ठले बताए । ‘हामीले पहिरो गएदेखि नै सडक खुलाउन प्रयास गरिरहेका छौँ तर सकिरहेका छैनौँ,’ श्रेष्ठले भने । 

‘सङ्घीय सरकारले खासै चासो देखाएन । आपत्कालीन अवस्थामा राज्यले गर्ने स्रोतसाधन प्रयोग गरेर सरकारले नाका खोल्नुपर्थ्यो,’ सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले भने, ‘त्यति पनि राज्यले नगर्दा व्यवसायी निकै मारमा परेका छन् ।’

‘विपद्मा गर्नुपर्ने काम राज्यले गरेन । बिम तेर्‍स्याएर बाटो खुलाउन सकिने अवस्था थियो, त्यो पनि राज्यले गरेन,’ बस्नेतले थपे, ‘नाका खुलेन भने पारि लोड भएर बसेका स्याउ र लसुन कुहिन्छन् । यसले व्यापारीहरूलाई करोडौँ घाटा लाग्छ ।’ 

दसैँका लागि ल्याइएका लत्ताकपडा लगायतका सामान सबै अड्किएका छन् । नेपालमा कन्टेनर राख्ने ठाउँ नभएकाले ल्याउन नसकिएको उनले बताए । करिब ५ सयदेखि ६ सय वटा कन्टेनर चीनतर्फ रोकिएका छन् । एक कन्टेनरको भाडा दैनिक १० हजार रुपैयाँ चिनियाँ व्यवसायी सङ्घलाई तिरेर राखिएको उनले जानकारी दिए ।

‘चीनको खासा, न्यालम र केरुङका सामान सबै नेपाली कन्टेनरमा लोड भइसकेका छन्,’ उनले भने, ‘ल्हासामा भएका कन्टेनर भने लोड भएका छैनन् ।’

प्रकाशित मिति : २०८२ साउन २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस