अनुसन्धानको १२ वर्षपछि स्याउका ३ नयाँ जात सिफारिस, एक वर्षमै फल्ने

जुम्ला । स्याउको राजधानी भनेर चिनिने जुम्लामा २०२४ सालबाट औचारिक स्याउ खेती सुरु भएको हो । २०२४ सालदेखि स्थानीय रैथाने जातको स्याउ खेती सुरु भएपनि ५÷६ वर्षयता उच्च घनत्वको फुजी जातको स्याउ खेती जुम्लामा व्यापक भईरहेको छ ।

फुजी जातको स्याउ खर्चिलो हुने भएकाले सामान्य किसान अहिले पनि रैथाने जात रेड डेलिसियस स्याउकै खेती गर्छन् । आयातित फुजि स्याउ र रैथाने जातको स्याउ खेती भएपनि जुम्लाकै माटोमा उत्पादन हुन सक्ने नयाँ जातको स्याउको अनुसन्धान हुन सकेको थिएन् ।

यदपी जुम्लामा स्याउ, तरकारी, खाधन्न बाली, भेडाबाख्रा र जडिबुटि लगायतका क्षेत्रमा अनुसन्धान गर्ने पाँच वटा अनुसन्धान केन्द्र छन् । यी अनुसन्धान केन्द्रले कुनै अनुसन्धान गर्न नसकेको रैथाने स्याउमा रोग किराको संक्रमण बढेको, नयाँ स्याउको जात अनुसन्धान नभएको जस्ता गुनासा बढ्दै गएका थिए ।

किसानका गुनासा र उत्पादन सम्भावनालाई मध्यनजर गरि बाग्वानी अनुसन्धान केन्द्र राजिकोटले अनुसन्धान थालेको १२ वर्षपछि नयाँ तीजातका स्याउ सिफारिस गरिएको छ । अनुसन्धान केन्द्र १२ वर्ष लगाएर जुम्लामा राम्रो उत्पादन हुने तीन वटा नयाँ ’स्पर जात’ का स्याउ सिफारिस गरेको हो ।

नयाँ सिफारिस जातका स्याउको नाम (स्टार क्रिमसन डेलिसियस, ब्राईट एन अर्ली र स्टार्क स्पर गोल्डेन) राखिएको वरिष्ठ वैज्ञानिक (एस–३) राजुकमार गिरीले बताए । नयाँ सिफारिस गरिएका स्याउका जातहरु रोपेको दुई देखी तीन वर्षमा फल्न सुरु गर्ने, हरेक वर्ष फल्ने, बोट होचो हुने भएकाले रेड, रोयल र गोल्डेन डेलिसियस जातका स्याउ रोप्ने दुरी (६–६) मिटर भन्दा कम दुरीमा रोप्न सकिने बैज्ञानिक गिरीले उल्लेख गरे ।

जुम्लाको रैथाने जातको रेड डेलिसियस, रोयल डेलिसियस स्याउ रोपेको पाँच वर्षपछि मात्रै फल दिन्छ । भने नयाँ तीन स्पर जातका स्याउ रोपेको एकै वर्षमै उत्पादन दिने भएकाले जुम्ली किसानलाई राहत हुने देखिएको छ । नयाँ सिफारिस भएको स्पर जातको स्याउका बोक्रा बाग्लो हुने भएकाले भण्डारण अवधि बढी हुनुका साथै ढुवानीमा कम क्षति हुने, स्पर जातका स्याउहरु रेड, रोयल र गोल्डेन जातको स्याउ भन्दा १०–१५ दिन ढिलो फुल्ने भएकाले तुसारोबाट बच्ने, रोग किराले पनि सजिलै आक्रमण नगर्ने समेत अनुसन्धान केन्द्रको दाबी छ ।

यस्तै रोगकिरा कम लाग्ने र सर्वधारण सबै किसानले सजिलै खेती गर्न सक्ने गुण भएको स्पर जातको नयाँ स्याउ सिफारिस गरिएको छ । हाल नेपालमा स्याउको उत्पादकत्व ८.५१ मेट्रिकटन प्रति हेक्टर रहेको छ भने सिफारिस जातका स्याउको उत्पादकत्व १४ मेट्रिकटन प्रति हेक्टर भन्दा बढी रहेको छ ।

यसैवर्षबाट बागवानि अनुसन्धान केन्द्र राजिकोटले सिफारिस गरेका तीन वटा स्पर जातका स्याउका कलमी बेर्नाहरु नर्सरी धनी र अगुवा किसानहरुलाई उपलब्ध गराउने जनाएको छ । जिल्लाका आठै पालिकाका किसानलाई नमुनाका रुपमा भएपनि नयाँ सिफारिस जातको बिरुवा उपलब्ध गराईने छ ।

साथै अनुसन्धान केन्द्रले इन्डियन स्परका १० वटा, क्यानेडियनका १५ वटा र फ्रान्सका ११ वटा स्याउहरुमा समेत अनुसन्धान गरिरहेको छ । तरकारी तथा स्याउ निरन्तर अध्यायन अनुसन्धान भईरहेपनि प्रयाप्त जनशक्ति तथा स्रोत साधनको अभावले अनुसन्धानको परिणाम आउन ढिलाई हुने गरेको छ ।

साथै बागवानि अनुसन्धान केन्द्र राजिकोटले स्याउका जातहरुको अलवा स्याउका कार्टुनमा पनि अनुसन्धान गरेको छ । बजारमा पाईने कार्टुनमा स्याउ ढुवानी गर्दा किसानहरुले बढी क्षति बेहोर्नु परेको छ । तर, केन्द्रले असुन्धान गरी पहिचान गरेका स्याउ कार्टुनमा एकदमै कम क्षति हुने दाबी गरिको छ ।

केन्द्रले संचालन गरेको स्याउका विभिन्न कार्टुनहरुको परीक्षणको नतिजा अनुसार सात प्लाई (पत्र) तथा एक सय असि भारबहान क्षमता भएको कार्टुनमा स्याउ ढुवानी गर्दा एकदम न्युन क्षति भएको छ । रेडमा ५५ प्रतिशत, रोयलमा ६.५ प्रतिशत र गोल्डेन डेलिसियसमा ७.२ प्रतिशत मात्र कम क्षति भएकाले यो कार्टुन ढुवानीका लागि सिफारिस गरिएको हो ।

तर, सरोकारवालाहरुले केन्द्रले सिफारिस गरेको स्याउ ढुवानी कार्टुन प्रयोग नगरी आफ्नै मनमर्जि हिसाबले वितरण र ढुवानी गर्दै आएका छन् । यसले गर्दा किसान र व्यापारीले स्याउ ढुवानीमा क्षति भोग्नु परेको छ ।

हाल जुम्लाको ४ हजार २५० हेक्टर जमिनमा स्याउ खेती भईरहेको छ । जसमा ५२ हेक्टरमा उच्च घनत्वको स्याउ खेती भईरहेको छ । गत वर्ष ६६ करोडको स्याउ निर्यात गरेको जुम्लाले यश वर्ष ४० करोड बढीको स्याउ निर्यात हुने अनुमान गरेको छ । असिनाले क्षति गरेपछि उत्पादन घटेको छ ।

रोग किरा नलाग्ने, उत्पादन राम्रो छोटौ समयमै फल्ने स्याउको जात सिफारिस हुनु खुसीको कुरा भएपनि भएको उत्पादनलाई बजारमा लिन कठिन रहेको किसानको गुनासो छ । भने स्याउबाटै जुम्लाको समृद्वि सम्भव भएकाले नयाँ सिफारिस जातका स्याउको खेती विस्तार,उत्पादन बृद्वी,ढुवानीमा सहुलियत र बजारीकरणमा ध्यान दिन जरुरी रहेको छ ।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस