मुगु,
मुगुको मुगम कार्मारोङ गाउँपालिका वडा नं५ पुलु बजारमा शुक्रबार बिहान पहिरो जाँदा एक बालकको मृत्यु भएको छ।भने उनका आमाबुबा घाइते भएका छन्। पहिरोका कारण पुलु बजारका अन्य ८ वटा घरहरू समेत उच्च जोखिममा परेका छन्।
प्रहरी नायब उपनिरीक्षक र विराज थपलिया का अनुसार साउन ९ गते बिहान करिब ४:०० बजेको समयमा बजारमाथिबाट ढुङ्गासहितको पहिरो खसेको थियो। पहिरो ले स्थानीय पेमा लामाको घर पूर्ण रूपमा पुरेको छ जानकारी गराउनु भयो सोही घरमा भाडामा लिई होटल व्यवसाय गर्दै आएका छायाँनाथ रारा नगरपालिका वडा नं.१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल की २७ वर्षीया श्रीमती सृजना बडुवाल र ३ वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा पहिरोमा परेका थिए।

घटनालगत्तै प्रहरी चौकी डोल्फु पुलुबाट प्रहरी नायब निरीक्षक सइ वीर बहादुर चन्दको कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोली र स्थानीय बासिन्दाले उद्धार कार्य सुरु गरेका थिए। पहिरोमा च्यापिएका ३ वर्षीय बालक रमेश बडुवाल लाई उद्धार गरी उपचारका लागि बिहान ४:४८ बजे पुलु स्वास्थ्य चौकी पुर्याइएको थियो। मध्यम अवस्थामा अस्पताल पुर्याइएका बालकलाई बिहान ५:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

पहिरोमा परी सामान्य घाइते भएका बुबा जगनाथ र आमा सृजना बडुवाल आफैँ हिँडेर पुलु स्वास्थ्य चौकी पुगेका थिए। हाल उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।





