चुनावी एजेण्डा नबनेको अलपत्र जिसस सभाहल

निर्माणाधिन र निर्माण भएका भौतिक संरचनामाथि भोट बैंकको चुनावी एजेण्डा बनाई राख्दा वर्षाैदेखि अलपत्र सभा हलले गिज्याउँदै

जुम्ला – आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिर्दै गएको छ । निर्वाचन नजिकिदै गएपछि यहाँका राजनीतिक दल र तिनका उम्मेदवारले चुनावी प्रचारप्रसारमा तिव्रता दिर्दै आएका छन् । कतिपय उम्मेदवारले निर्माणाधिन र केही निर्माण भएका भौतिक संरचनामाथि भोट बैकका रुपमा चुनावी एजेण्डा बनाई रहेका छन् । तर जुम्लाकै गौरवको आयोजना मानिएको बहुउेद्देश्यीय सभाहल अहिले अलपत्र अवस्थामा छ । त्यो सभाहललाई कुनै पनि उम्मेदवारले चुनावी एजेण्डा बनाएको देखिदैन ।


तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयले जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय जुम्लामार्फत आर्थिक वर्ष ०७१/७२ सालदेखि आयोजना सम्झौता गरी निर्माण कार्य थालिएको थियो । सभाहलको निर्माण कार्य भने ०७१ साउन ४ गतेदेखि थालिएको हो । यो आयोजना ०७४ भदौ ६ गते सम्पन्न हुनुपर्ने थियो । डेढ दशकअघि निर्माण कार्य थालिएको तत्कालीन जिल्ला परिषद् बहुउद्देश्यीय सभाहल निर्माण हुन नसकी अलपत्र बनेको छ । आधा निर्माण भइसकेको भवन पूरा नहुँदा भौतिक संरचना भत्किन थालेका छन् ।


यो अलपत्र सभाहलले यहाँका राजनीतिक दल, उम्मेदवार, जनप्रतिनिधि, कर्मचारी र आमनागरिकलाई गिज्याउँदै आएको छ । तर, उनीहरू टसमस भएको पाइँदैन । २०७० सालको दोस्रो संविधान सभाका सभासददेखि ०७९ साल निर्वाचित भएका जनप्रतिनिधि र कर्मचारीले अलपत्र सभाहल निर्माण कार्य पहलको पाइँदैन । लामो समयदेखि सभाहल अलपत्र भए पनि जनप्रतिनिधि र कर्मचारीले निर्माण गर्न कार्यमा पहल नगरेको पुष्टि हुन्छ ।


‘हामीले जुम्लाका लागि धेरै विकास निर्माण कार्य गर्दै आयौँ,’ भन्दै हिँडेका तत्कालिन सांसदहरू ललितजंग शाही, गोमा कुँवर, बलबहादुर महत, डिल्लीप्रसाद काफ्लेले अलपत्र सभाहलको निर्माण कार्यमा ध्यान दिन सकेनन् । त्यस यताका सांसद गजेन्द्रबहादुर महत, पदम रोकाया, दिनवन्धु श्रेष्ठ, नरेश भण्डारीलगायतका व्यक्तिहरु प्रतिनिधि र प्रदेश सभामा प्रतिनिधित्व गर्दै आएका थिए । रोकाया, भण्डारी र श्रेष्ठ प्रदेश मन्त्री पनि भए । तर अलपत्र सभा हलप्रति एक नजर पनि हेरेनन् ।


पछिल्लो ०७९ सालको निर्वाचनमा ज्ञानेन्द्र शाही, कान्तिका सेजुवाल, विनिता कठायत र छिरिङ ल्यामु लामा प्रतिनिधि सभा सांसद बने । उनीहरु सांसद बनिराख्दा जुम्ला विमान स्थलदेखि थुप्रै आयोजना निर्माणको सामाजिक सञ्जालमा स्टनबाजी नै बन्यो । तर उनीले पनि अलपत्र सभाहलका विषयमा चुईक पनि बोलेको पाईएन । देवेन्द्र शाही र टेकराज पछाई अहिले बहालवाला प्रदेश सांसद नै छन् ।


अहिले २०८२ सालको प्रतिनिधि सभा निर्वाचनका लागि जुम्लाबाट एक जना स्वतन्त्रसहित १० जना उम्मेदवार बनेका छन् । उनीहरुले पनि भोट बटुल्नकै लागि सवथोक मै गर्छु भन्दै भविश्य वाणी गरिहेका बेला अलपत्र सभा हलका विषयमा एक शव्द ओकलेका छैनन् ।

प्रकाशित मिति : २०८२ माघ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस