जुम्ला । वर्षायाम नजिकिँदै जाँदा बाढी, पहिरो तथा अन्य मनसुनजन्य विपद्को न्यूनीकरणका लागि जुम्लामा सुरक्षा निकाय तथा सरोकारवालाको संयुक्त विपद् प्रतिकार्य अभ्यास सम्पन्न गरिएको छ। चन्दननाथ नगरपालिका–१ दासाँघु क्षेत्रमा नेपाली सेनाको देविदत्त गणको समन्वयमा ‘मनसुन–६’ नामक अभ्यास आयोजना गरिएको हो।
प्राकृतिक विपद्को अवस्थालाई कृत्रिम रूपमा तयार पारेर विभिन्न उद्धार विधिको प्रयोगात्मक अभ्यास गरिएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, स्वास्थ्यकर्मी, विद्यार्थी, स्थानीय नागरिक र सरकारी कार्यालयका प्रतिनिधिहरू सहभागी भएका थिए।
अभ्यासका क्रममा भीर र खोचमा फसेका व्यक्तिलाई डोरीको सहायताबाट सुरक्षित स्थानमा ल्याउने, नदी र डुबान क्षेत्रमा उद्धार गर्ने, बाढीले बगाएका व्यक्तिलाई बाहिर निकाल्ने तथा जोखिमपूर्ण स्थानमा रिभर क्रसिङ प्रविधि प्रयोग गर्ने सीप प्रस्तुत गरिएको थियो। उद्धार टोलीले विपद्का समयमा प्रयोग गरिने विभिन्न उपकरण र प्रविधिको प्रदर्शनसमेत गरेको थियो।

देविदत्त गणका गणपति प्रमुख सेनानी धिरज थापाले जुम्ला प्राकृतिक प्रकोपको दृष्टिले संवेदनशील जिल्ला भएकाले विपद् आउनुअघि नै तयारीलाई प्राथमिकता दिनुपर्ने बताए। उनले समुदाय स्तरमा पनि उद्धार सम्बन्धी आधारभूत ज्ञान र क्षमता विकास आवश्यक रहेको धारणा राखे।

चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले विपद्का बेला सुरक्षाकर्मीको भूमिका प्रभावकारी रहने भन्दै स्थानीय तहले आवश्यक सामग्री र बजेट व्यवस्थापन गरिरहेको जानकारी दिए।
उपप्रमुख रामदेवी खड्काले वर्षेनी हुने बाढी, पहिरो र डुबानले जुम्लामा क्षति पुर्याउँदै आएको उल्लेख गर्दै यस्ता अभ्यासले नागरिकलाई सचेत र आत्मविश्वासी बनाउने बताइन्।

२४ नम्बर बाहिनी अड्डाका बाहिनीपति अर्जुन बस्नेतले विपद् आएपछि भन्दा विपद् आउनुअघि गरिने तयारी नै प्रभावकारी हुने बताए। भौतिक संरचना अवरुद्ध हुँदा वैकल्पिक उद्धार उपाय र सीप अत्यावश्यक हुने उनको भनाइ थियो।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाकी सुपर परियोजना अधिकृत ईश्वरा सुवेदीले नागरिकको जीवनरक्षाका लागि यस्ता पूर्वतयारी अभ्यास निकै उपयोगी हुने बताइन्।




