जुम्ला । जुम्लामा पछिल्लो समय विभिन्न स्थानहरूमा लागूऔषध दुव्र्यसनीको समस्या बढ्दो क्रममा रहेको सन्दर्भमा तातोपानी गाउँपालिका वडा नं. ५ को आयोजनामा, गिडिदह मिडिया प्रा.लि.को सहजीकरण तथा भूरिचुल्ला मिडिया प्रा.लि.को समन्वयमा “लागूऔषध दुव्र्यसनी : वर्तमान अवस्था, न्यूनीकरणका प्रयास र चुनौती” विषयक बृहत् बहस कार्यक्रम दुर्गा माध्यमिक विद्यालय, लाम्रामा सम्पन्न भएको छ।
कार्यक्रममा लागूऔषध दुव्र्यसनीको बढ्दो प्रभाव, यसको रोकथाम तथा न्यूनीकरणका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। बहसका वक्ताका रूपमा प्रहरी निरीक्षक निर्देश बराल, अधिवक्ता नन्दबहादुर खत्री, वडा सदस्य रत्नचन्द्र उपाध्याय तथा दुर्गा माविका प्रधानाध्यापक प्रेमबहादुर शाही सहभागी भएका थिए।

कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। जनचेतनामूलक बहसमार्फत लागूऔषध दुव्र्यसनीका कारण, असर र त्यसबाट बच्ने उपायबारे जानकारी प्रदान गरिएको थियो।
प्रहरी निरीक्षक निर्देश बरालले लागूऔषध दुव्र्यसनी समाजका लागि गम्भीर चुनौती बनेको उल्लेख गर्दै यसमा संलग्न हुनु कानुनी रूपमा अपराध भएको बताए। उनले यसको न्यूनीकरणका लागि प्रहरीले विभिन्न विद्यालय तथा समुदायमा निरन्तर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।

अधिवक्ता नन्दबहादुर खत्रीले लागूऔषध सम्बन्धी कानुनी व्यवस्था, अपराधको प्रकृति तथा त्यसअनुसार हुने दण्ड–सजायबारे जानकारी गराएका थिए। उनले कानुनले विभिन्न उमेर समूह र अपराधको प्रकृतिअनुसार फरक–फरक व्यवस्था गरेको समेत स्पष्ट पारे।
वडा सदस्य रत्नचन्द्र उपाध्यायले यस्ता कार्यक्रम विद्यार्थीहरूमा मात्र सीमित नराखी अभिभावकहरूलाई समेत सहभागी गराएर सञ्चालन गर्न सके यसको प्रभाव अझ व्यापक हुने धारणा व्यक्त गरे।

प्रधानाध्यापक प्रेमबहादुर शाहीले लागूऔषध दुव्र्यसनी रोकथाममा अभिभावकको भूमिका महत्वपूर्ण हुने बताए। आफ्ना बालबालिकाको संगत, गतिविधि र व्यवहारप्रति अभिभावक सचेत रहनुपर्नेमा उनले जोड दिए।



