जुम्ला । देशको वर्तमान राजनीतिक परिस्थितिलाई हेर्दा नेपाली काँग्रेसभित्र एकता, संवाद, जिम्मेवारीबोध र परिपक्व निर्णयको आवश्यकता पहिलेभन्दा अझ बढी महसुस भएको छ। आजको आवश्यकता फुट होइन, जुट हो। मतभेद लोकतान्त्रिक अभ्यासका स्वाभाविक पक्ष हुन्, तर ती मतभेदलाई विभाजनको आधार होइन, संगठनलाई अझ बलियो बनाउने अवसरका रूपमा लिनुपर्छ।
हामी कोही अत्यधिक निराश हुने र कोही अनावश्यक रूपमा मात्तिने अवस्था सिर्जना हुनु हुँदैन। लोकतन्त्रमा जनताले सधै जिम्मेवार, परिपक्व र राष्ट्रहितलाई केन्द्रमा राख्ने राजनीतिक शक्ति खोजिरहेका हुन्छन्। त्यो विश्वास कायम राख्ने ऐतिहासिक दायित्व नेपाली काँग्रेसको काँधमा छ।
देश कठिन मोडमा उभिएको बेला व्यक्तिगत आकांक्षा, गुटगत स्वार्थ वा क्षणिक राजनीतिक लाभभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकता दिन आवश्यक छ। नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक इतिहास बोकेको राष्ट्रिय शक्तिले जनताको भरोसा जोगाउँदै देशलाई स्थिरता, सुशासन, विकास, समृद्धि तथा राष्ट्रिय स्वाभिमानको संरक्षणतर्फ नेतृत्व दिनुपर्छ भन्ने जनअपेक्षा आज पनि उत्तिकै बलियो छ।
यतिबेला पार्टीसँग सम्बन्धित विषयहरूमा सर्वोच्च अदालतको निर्णय आफ्नो संवैधानिक र कानुनी प्रक्रियाअनुसार आउने नै छ। तर राजनीतिक दलको दीर्घकालीन शक्ति, विश्वसनीयता र भविष्य अन्ततः त्यसको आफ्नै आन्तरिक लोकतान्त्रिक निर्णय, संवाद, सहमति र एकतामा निर्भर रहन्छ। त्यसैले नेपाली काँग्रेसले गर्ने परिपक्व आन्तरिक निर्णय पार्टीका लागि मात्र होइन, नेपालको राजनीतिक स्थिरता, लोकतान्त्रिक भविष्य तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रभावकारी उपस्थितिका दृष्टिले पनि महत्त्वपूर्ण हुनेछ। त्यसबाट देश र जनताको हित अझ सुदृढ हुने विश्वास गर्न सकिन्छ।
हामी सबैले संयम, सहकार्य र आपसी विश्वासका साथ अघि बढ्यौं भने कुनै पनि चुनौती असम्भव हुँदैन। संगठन बलियो भयो भने लोकतन्त्र बलियो हुन्छ, लोकतन्त्र बलियो भयो भने राष्ट्र बलियो हुन्छ।
आज एकताको सन्देशलाई व्यवहारमा उतार्ने समय हो। फुटको होइन, जुटको राजनीति आवश्यक छ। निराशा होइन, आशा बाँड्नुपर्ने बेला हो। व्यक्तिगत स्वार्थभन्दा माथि पार्टी, पार्टीभन्दा माथि देश र जनताको हितलाई राख्दै नेपाली काँग्रेसलाई अझ सशक्त, एकताबद्ध र जनविश्वासको केन्द्र बनाउने अभियान आजको अपरिहार्य आवश्यकता बनेको छ। यही नै समयको माग, जनताको अपेक्षा र राष्ट्रप्रतिको हाम्रो साझा जिम्मेवारी हो।
लेखक लक्ष्मण बहादुर शाही हिमा गाउँपालिका अध्यक्ष हुनुहुन्छ ।




