महिनावारी विभेद : सचेत बन्दै ग्रामिण महिला

जुम्ला – कुनै बेला गाउँ आउनु भन्दा पहिला जताजतै फोहोर दिसापीसाव अर्थात (गु आयो गाउँ आयो) भन्ने गरिन्थ्यो । त्यतिबेला गाउँघरमा चर्पी शौचालय थिएनन् । जथाभावी दिसापीसाव गर्ने गरिन्थ्यो र जताजतै फोहोर देखिने गर्दथ्यो । जसले गर्दा मासिनलाई हैजा जस्तो रोग फैलिने गर्दथ्यो ।


त्यतिबेला एक घर एक शौचालय निर्माण जस्ता अभियान सञ्चालनपछि शौचालय निर्माण पनि भए । गाउँ घरमा खुला दिसापीसाव नगर्ने र शौचालयको प्रयोग हुन थालेपछि फोहोर पनि कम हुदै गयो । प्रत्येकको घरमा शौचालय निर्माण भएपनि खुला दिसामुक्त घोषणा जस्ता कार्यक्रम सञ्चालन भए ।


खुला दिसामुक्त घोषणा कार्यक्रम जस्तै अहिले पछिल्लो समयमा महिनावारी विभेद तथा छुईगोठ मुक्त घोषणाका कार्यक्रम सञ्चालन हुन थालेका छन् । सामाजिक रुपमा समाजमा विकृतिको रुपमा रहेको महिनावारी विभेद अर्थात महिनावारी भएको अवस्थामा गोठमा बस्ने चलनलाई निरुत्साहित गर्न यस्ता अभियान सञ्चालन हुन थालेका छन् ।

ग्रामिण महिला तथा किशोरी सचेत बन्दै गएपछि महिनावारी विभेद तथा छुईगोठ अन्त्य गर्नुपर्ने अभियान निकै सक्रियताका साथ अघि बढ्न थालेका छन् । सरकारी तथा गैरसरकारी निकायका संघ संस्थाले महिनावारी भएको अवस्थामा गोठमा बस्नु हुदैन र स्वस्थ र सुरक्षित हुनुपर्छ भन्ने उद्देश्यका साथ यस्ता अभियान सञ्चालन हुन थालेका हुन् ।

पातारासी गाउँपालिका – १ नम्बर वडालाई गाउँपालिका, वडापालिका र सर्वाेदय नेपाल, जुम्लाको समन्वयमा भदौँ ३ गते महिनावारी विभेद तथा छुईगोठ मुक्त वडा घोषणा गरिएको छ । लामो समयदेखि महिनावारी विभेदका विषयमा सचेतना कार्यक्रम सञ्चालन गर्दै महिला तथा किशोरीलाई सक्षम बनाउने अभियान सञ्चालन गर्दै आएको सर्वाेदय नेपाल जुम्ला जुम्लाका निर्देशक कमराज खत्रीले बताए । उनले भने, महिनावारी भएको अवस्थामा महिला स्वस्थ र सुरक्षित रहनु पर्दछ । उनीहरुलाई महिनावारी भएको अवस्थामा पोषणयुक्त आहाराको पनि आवश्यकता पर्दछ । त्यतिबेला घरका अरु परिवारले सहयोग गर्नू पर्दछ । स्थानीय सरकार तथा सरोकारवाला निकायसँग समन्वय गरी सर्वाेदय नेपाल, जुम्लाले महिला तथा किशोरीलाई सशक्तिकरण गर्दै जिल्लाका ६ स्थानीय तहका २२ वडा ५३ वटा गाउँ बस्तीमा छुईगोठ मुक्त गरेको छ ।


प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले समाजमा सदियौँदेखि नकरात्मक अभ्यासका रुपमा रहेको महिनावारी विभेद अन्त्य गर्न सरकारी तथा गैरसरकारी निकायको प्रयाससँगै समुदायबाट सक्रियताको आवश्यक रहेको बताए । पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंग बोहोराले वडा नम्बर १ लाई औपचारिक रूपमा महिनावारी विभेद तथा छुईगोठ मुक्त वडा घोषणा गरेका थिए । उनले पातारासी–१ का महिला तथा किशोरीले महिनावारीकै कारण भोग्दै आएका सबै विभेद अन्त्य भएका घोषणा गरेका छन् ।


कार्यक्रममा विभिन्न सांस्कृतिकमार्फत महिनावारी विभेद, सामाजिक कुरीति र गलत अभ्यासविरुद्ध सन्देश प्रवाह गरिएको थियो । कुनै पनि तवरतरिकाबाट महिनावारी विभेद नगर्ने सहभागीले प्रतिबद्धतासहित हस्ताक्षरसमेत गरेका थिए ।

प्रकाशित मिति : २०८३ भाद्र ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस