जुम्लामा मोटरसाइकल दुर्घटना, दुई जना सामान्य घाइते

जुम्लाको तातोपानी गाउँपालिका–३ लिताकोटस्थित जुम्ला–नाग्मा सडकखण्डमा शुक्रबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा दुई जना सामान्य घाइते भएका छन्।


दिउँसो करिब २ बजे क १ प ११७८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल बारीमा खस्दा दुर्घटना भएको हो।


दुर्घटनामा मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ घर भई हाल चन्दननाथ नगरपालिका–५ कालिखोलीस्थित पौवा होटलमा कार्यरत २२ वर्षीय दर्शन काफ्ले घाइते भएका छन्। उनको मुख र निधारमा सामान्य चोट लागेको छ।


त्यसैगरी मोटरसाइकलको पछाडि सवार सिंजा गाउँपालिका–५ का २८ वर्षीय दिलिप रोकाया पनि घाइते भएका छन्। उनको दाहिने आँखामाथि सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
दुवै घाइतेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचारका लागि लगिएको छ। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।


प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलको अगाडिको भागमा क्षति पुगेको छ। चालकको कागजात साथमा नभएको जनाइएको छ। मोटरसाइकल इलाका प्रहरी चौकी लिताकोटको नियन्त्रणमा रहेको छ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस