डोल्पाबाट जुम्ला आउँदै गरेको जिप मौरे लेकमा दुर्घटना : १ जनाको घटनास्थलमै मृत्यु, १४ घाइते

जुम्ला– डोल्पाको जगदुल्लाबाट जुम्लातर्फ आउँदै गरेको यात्रुवाहक जिप मौरे लेक क्षेत्रमा दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

दुर्घटना आइतबार भएको हो। दुर्घटनापछि स्थानीयवासी, सुरक्षाकर्मी तथा प्रशासनको समन्वयमा उद्धार कार्य तीव्र रूपमा अघि बढाइएको छ। घाइतेहरूको अवस्था बुझ्ने र उनीहरूलाई उपचारका लागि सुरक्षित स्थानमा पुर्‍याउने प्रयास भइरहेको छ।

घाइतेहरूको उद्धारका लागि जुम्लाबाट एउटा एम्बुलेन्स घटनास्थलतर्फ पठाइएको छ। त्यसैगरी डोल्पाका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र सम्बन्धित निकायका सुरक्षाकर्मीको टोली पनि घटनास्थलतर्फ गएको छ।

जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलका अनुसार हाल उद्धार तथा राहत कार्य जारी रहेको छ। दुर्घटनामा मृत्यु हुने व्यक्तिको पहिचान तथा घाइतेहरूको नामावली सार्वजनिक हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो।

दुर्घटनाको कारण खुलेको छैन। जिप सडकबाट कसरी दुर्घटनाग्रस्त भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। घटनाको थप विवरण संकलन भइरहेको र आधिकारिक जानकारी प्राप्त हुनेबित्तिकै सार्वजनिक गरिने प्रशासनले जनाएको छ।

प्रकाशित मिति : २०८३ असार २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस