जुम्ली महको मुल्य बृद्धि, किसान उत्साहित

जुम्ला ।जुम्लामा उत्पादन हुने अर्गानिक महको मुख्य बृद्धि भएपछि किसान उत्साहित भएका छन् । चरण क्षेत्रको अभाव, रोग किराको प्रकोपका बीच पनि जोखिम मोलेर मौरीपालन गरिरहेका जुम्लाका किसान महको मुल्य बृद्धि भएसंगै उत्साहित भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईंको अध्यक्षतामा बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले महको मुल्य हालसम्मकै बृद्धि गरेको छ । मुल्य बृद्धिसंगै किसान उत्साह छाएको पातारासी गाउँपालिका वडा नं. ७ का मौरीपालक किसान टंक रावतले जोखिम मोल्दै मौरी पालन गर्दै आएका किसानलाई मुल्य बृद्धि राहत दिलाएको बताए । भरी र खाली गरेर झण्डै एकसय वटा घार रहेका किसान टंकले गत वर्ष प्रतिकेजी १८ सय रुपैयाँमा विक्री गरेका थिए । भने मह बेचेरै उनले वार्षिक ८ लाख सम्म आम्दानी गर्दै आएका छन् ।

रोग किराको संक्रमणले मौरी बचाउन कठिन रहेको दुखेसो गरेका उनले सरकारले अनुदान दिने गरेपनि संकटको समयमा खास्सै चासो नदिएको समेत गुनासो पोखे । विगतमा १८ सय रुपैयाँ प्रतिकेजी मह बचेका टंक एक्कासी प्रतिकेजीमा ७ सय रुपैयाँ बृद्धि भएपछि निकै उत्साहित भएका छन् ।

जुम्लाको मह नेपालका सबै बजारमा पुग्ने गरेको छ । यदपी उचित मुल्य नपाउँदा मर्कामा परेका किसानले ढिलै भएपनि न्याय पाएका छन् । जिल्ला दररेट निर्धारण समितिले गत आर्थिक वर्षको तुलनामा चालु आवमा प्रतिकेजीमा ५ सय रुपैयाँले महको मूल्य बढाएको हो । गत आर्थिक वर्षमा महको भाउ प्रतिकेजी १८ सयदेखी २ हजार रुपैयाँमा विक्री भईहेको थियो ।

‘विगतमा महको मूल्यमा एकरूपता थिएन। किसान पिच्छे मुल्य परक परक थियो,’ रावतले भने,‘गत वर्षदेखि जिल्ला दररेट निर्धारण समितिले मूल्य तोकिदिन थालेपछि अहिले बजार पनि राम्रो छ । लामो समय देखिएको मौरीपालक किसानको माग सम्बोधन भएकोमा खुसी छौ । यदपी रोग किरोको दिर्घकालीन समधान खोज्न जरुरी छ ।’

जिल्ला दररेट निर्धारण समितिले मौरीसहितको स्थानीय घारको मूल्य प्रतिगोटा १० हजार रुपैयाँ तोकेको छ । गत आर्थिक वर्षमा घारको मूल्य ९ हजारे थियो । मौरीबाहेकको स्थानीय घारको मूल्य गत वर्षको भन्दा घटेको छ । गत आर्थिक वर्षमा ६ हजार ५ सय रुपैयाँ तोकिएकामा यस वर्ष ६ हजार मात्र राखिएको हो ।

मौरीसहितको जुम्ली टपबार घार प्रतिगोटा १३ हजार, मौरीबाहेकको जुम्ली टपबार घार ८ हजार रुपैयाँ मूल्य निर्धारण भएको छ । घारको भाउ १२ हजार र ८ हजार रुपैयाँ थियो । समितिले कम्तीमा ९ फ्रेम भएको जुम्ली न्युटन मौरीको खालीघार प्रतिगोटा ५ हजार रुपैयाँ, ९ फ्रेम भएको सुपरसहितको मौरीको खाली घार प्रतिगोटा ७ हजार रुपैयाँ र मौरीको प्रतिफ्रेम १ हजार ५ सय रुपैयाँ तोकेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले बताए ।

जुम्लाको मह सुर्खेत, नेपालगञ्ज, पोखरा, काठमाडौंलगायतका सहरमा पुग्ने गरेको छ । जुम्लामा लामो समयदेखी अर्गानिक मिनि मार्केट संचालन गर्दै आएका रिसिराम पाण्डेले जुम्लाको महको माग बढ्दो मात्रामा रहेको बताए । मिनि मार्केटले सबै किसानको मह जिल्ला दररेट अनुसारनै खरिद गर्ने उल्लेख गरे ।

जुम्ली महको प्रयोगले स्वास्थ्य धेरै फाईदा गर्ने र स्वादिष्ट हुने भएकाले बजारमा महको अत्यधिक रुपमा माग बढ्दै गएको छ । आठ स्थानीयतह रहेको जुम्लामा करिब ८ हजार मौरी घार रहेको तथ्यांक छ । महबाट हुने आम्दानी भने हालसम्म एकिन हुन सकेको छैन् । यदपी जिल्लाका ६० वटै वडामा मौरीपालन हुने गरेको छ । तर डोजरे विकास, विषादीको प्रयोग लगायतका कारण मौरीपालन संकटमा परेको छ ।

प्रकाशित मिति : २०८३ साउन ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस