जुम्ला । तातोपानी गाउँपालिका वडा नं १ बाईराँका गाउँकी राधिका शाहीले तिला नदीको दुषित पानी पिउन भएको करिब चार दशक बित्यो । गाउँमा पानीको स्रोत नभएको बाईराँका गाउँ पानी अभावले दशकौदेखी काकाकुल छ । गाउँमा स्वच्छ खानेपानी धारा निर्माण नभएर धेरै पुस्ताको अन्त्य भईसकेको छ ।
‘म पोईला आएको ४० वर्ष बितिसक्दा पनि गाउँमा पानी आएको छैन्,’राधिका शाहीले भनिन,‘बाईराँकामा पानी पुराउने बाचा धेरै नेता दिए । भोट माग्न पानी पुराउने आशा देखाएपनि कसैले बाचा पुरा गरेनन् । हाम्रो पानी अभावको दुःख उस्तै छन् ।’नदीबाट पिठ्युमा गाग्री बोक्दै आएकी राधिकाले गाउँमा लिफ्ट खानेपानी आयोजना निर्माण हुने भएपछि उत्साह छाएको उल्लेख गरिन् ।
यदपी गाउँमा पानी पुग्ने आशा वर्षौदेखी गरेपनि निरासामा बद्लिएको उनको दुखेसो छ । पानी कुर्दा कुर्दै चालिस वर्ष बितिसके,नदीकै दुषित पानीले दिनचर्या चलेको छ । अब छिटै खानेपानी आयोजना निर्माण गर्न उनले आग्रह गरिन् ।
त्यस्तै बाईराँका गाउँका यूवा विराज नेपाली जान्ने भएदेखी आजसम्म गाउँमा धाराको पानी आएको छैन् । नदीकै दुषित पानी खाएर बाल्यकाल बिताएका उनी, केही वर्ष खाडी मुलुक बसे । त्यसपछि काठमान्डौँमा काम गरेर गुजारा चलाउदै आएका अहिले सम्म पनि गाउँमा खानेपानीको समस्या ज्युँत्युका हुँदा छक्क परेका छन् ।
तर ढिलै भएपनि गाउँमा लिफ्ट खानेपानी आयोजना निर्माण हुने कुराले विराज पनि उत्साहित छन् । नदीकै दुषित पानी पिउनु पर्ने दशकौ देखीको नियती जस्तै बनेको बाईराकाबासीको समस्या अन्त्य हुने आशामा छन् । देखेपछि २०६४ यताका निर्वाचनमा गरेका बाचा र संघियता कार्यान्वयनले पनि बाईराँकाको समस्या संबोधन नगरेको दुख व्यक्त गरे ।
करोड लगानीको खानेपानी आयोजना बन्दै
वर्षौदेखी खानेपानी अभाव झेल्दै आएको बाईराँका गाउँमा करोड बढी लगानीमा लिफ्ट खानेपानी आयोजना निर्माण भईरहेको छ । जलवायू परिवर्तन स्थानीय अनूकुलन (लक) परियोजना र तातोपानी गाउँपालिकाले एक करोड बढी बजेट लगानीमा लिफ्ट खानेपानी आयोजना निर्माण हुने भएको छ ।
वर्षौदेखी पानी अभाव झेल्दै आएको बाईराँमा दुई वर्षभित्रै घरघरमा एकघर,एकधारा पुराउने लक्ष्यका लिफ्ट खानेपानी आयोजना निर्माण भईरहेको निर्माण समितिका अध्यक्ष विरेन्द्र शाहीले बताए । उनका अनुसार तिला नदीको पानी लिफ्ट मार्फत गाउँमा पुराईने छ ।
कुल १२४ वटा घरधुरी रहेको बाईराँमा ६२० जना जनसंख्या रहेको छ । जसमा दलित घरधुरी ८२ वटा छन् । एकातिर दिनप्रति दिन जनसख्ंया बृद्धि हुदैँ, अर्कोतिर पानी अभावको समस्या चुलिदै गएको स्थितीमा गाउँपालिकाले कुल १ करोड २ लाख ४० हजार ३६२ रुपैयाँ लगानीमा लिफ्ट खानेपानी आयोजना निर्माण गर्न थालिएको तातोपानी गाउँपालिका लक परियोजना अधिकृत हरिगोपाल चौलागाँईले बताए ।
उनका अनुसार कल १ करोड बजेट मध्य जनश्रमदान १५ लाख ३६ हजार, नेपाल सरकारको १३ लाख ८२ हजार ४४८ रुपैयाँ, तातोपानी गाउपालिकाको ३० लाख ७२ हजार १०८ रुपैयाँ र फिनल्यान्ड सरकार र युरोपियन युनियनको ४१ लाख ४७ हजार ३४६ गरी कुल एक करोड २ लाखबढी बजेट लगानीमा बृहत्त लिफ्ट खानेपानी आयोजना निर्माण हुने छ ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले वर्षौदेखी पानी अभाव झेल्दै आएको बाईराँका गाउँमा आफ्नै कार्यकाल भित्र स्वच्छ पानी पुराईने बताए । ‘म अध्यक्षमा निर्वाचित भएदेखी पानी पुराउने पहल थालेको हुँ,‘उनले भने,‘गाउँमा स्रोत नभएकाले पनि समस्या भएको हो । अहिले करोड बढी लगानीमा लिफ्ट मार्फत गाउँमा पानी पुराउने लक्ष्य राखेका छौ । स्थानीयहरु उत्साहित भएर काम पनि गरिरहेका छन् । आशा हाम्रै कार्यकाल भित्र पानी बाईराँकामा पुग्ने छ ।’
भोट बैंकमै सिमित बाईराँका
२०६४ यता सबै निर्वाचनमा बाईराँकामा पानी पुराउने नारा नलगाइएको पनि होईन् । स्थानीयतहका जनप्रतिनिधिले बाचा गरेकै थिए । तर पानी ल्याउने नाममा बाईराँका बासीलाई भोट बैंक बनाइएपनि समस्या उस्तै छन् । अबको चुनावमा निकै विवेक प्रयोग गर्नुपर्नु देखिएको बाईराँका बासी बताउँछन
जुम्लाबाट २०६४ देखि २०८९ सम्म चार वटा संघिय निर्वाचन र दुई वटा प्रदेश सभाको निर्वाचन सम्पन्न भए । २०६४ मा नरेश भण्डारी, २०७० मा ललितजंग, २०७४ गजेन्द्र बहादुर महत र २०७९ मा ज्ञानेन्द्र बहादुर शाहीले जिते । दर्जन बढी समानुपातिक सांसद पनि भए । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुदैँ छ । तर बाईराँका गाउँमा भने पानी पुग्न सकेको छैन् ।
गाउँमा स्रोत नभएको उक्त बाईराँकामा संघ र प्रदेशको ठुलो बजेट लगानी बिना पानी पुग्न सम्भव छैन् । जितेका सांसदले गाउँमा पानी ल्याउँलान र आफुले पाएको जस्तो दुख छोरा नातीले नपाउँला भनेर निरन्तर भोट दिईरहेका बाईराँका बासी अहिले निकै पश्चतापमा छन् ।
बाह्रैमास पानीले काकाकुल तातोपानी–१ बाइराँकाका स्थानीय अहिले पनि तिला नदीको दूषित पानीको सहारामा बाँचिरहेका छन् । ‘बर्खाको हिलो माटो मिसिएको पानी खाँदा पनि धन्न हामी बाँचेका छौं । रोग लागेको छैन’,बाइराँका गाउँकी स्थानीय महिला छुमकली सार्की भन्छिन्,‘बाइराँकामा पानी पु¥याउने आश्वासन २०६४ बाट हालसम्मका संघीय सांसददेखि स्थानीय तहका वडाध्यक्षले आश्वासन दिए । तर पानी पुगेन । जनसंख्या बढ्दै छ । पानीको स्रोत कतै छैन । तीनै तहका सरकार हाम्रा समस्याप्रति अनुदार देखिए । हाम्रो प्यासको कसैलाई मतलव छैन । संविधानले दिएको स्वच्छ पानी पिउने अधिकार नै कुण्ठित भएको छ ।’ यदपी अहिले लिफ्ट खानेपानी आयोजना निर्माण भईरहेको कुराले पानी अभावले काकाकुल बाईराँका भने गाउँमा स्वच्छ पानी पुग्ने बेग्र प्रतिक्षामा बसेको छ ।




