जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ भण्डारीवाडाका २२ वर्षीय सन्तबहादुर भण्डारीको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार साउन ६ गते राति करिब ९ बजे कनकासुन्दरी–८ भण्डारीवाडा निवासी पदम भण्डारीका छोरा २१ वर्षीय अनिल भण्डारीको घरमा अनिल भण्डारी, १८ वर्षीय गोपाल सार्की, २२ वर्षीय सन्तबहादुर भण्डारी तथा जीवन बुढा मादक पदार्थ सेवन गरी सँगै सुतेका थिए।
भोलिपल्ट साउन ७ गते बिहान करिब ८ बजे सन्तबहादुर भण्डारी घरको आँगनमा बेहोस अवस्थामा फेला परेका थिए। उनको नाक र मुखबाट रगत बगिरहेको देखिएपछि तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचारका लागि लगिएको थियो।
प्रतिष्ठानमा प्रारम्भिक उपचारपछि अवस्था गम्भीर देखिएकाले नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्जस्थित न्यूरो मेडिकल अस्पतालमा थप उपचारका लागि पठाइएको थियो। उपचारकै क्रममा साउन ११ गते बिहान ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनाबारे जिल्ला प्रहरी कार्यालय जुम्लाले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। मृत्युको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन तथा अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो ।





