जुम्ला – जनस्वास्थ्यको जिल्ला स्तरीय बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । सेफ द चिल्डेन, किर्डाक लगायत संघ संस्थाको समन्वयमा जनस्वास्थ्य कार्यालय जुम्लाको आयोजना गरेको आर्थिक वर्ष २०८२/०८३ को जिल्ला स्तरीय बार्षिक समिक्षा कार्यक्रम तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो ।
स्वास्थ्य कार्यक्रमहरुको प्रगति, उपलव्धि र कार्य सम्पादनको तुलनात्मक समिक्षा तथा विश्लेषण गर्ने, कार्यक्रमहरुको कार्यान्वयनमा देखिएका समास्या, चुनौती/कमजोरीहरुको पहिचान गरी आवश्यक सुधारात्मक उपायहरु निर्धारण गर्ने उद्देश्यले समीक्षा कार्यक्रमको आयोजना गरिएको हो ।
यस्तै अनुभव, सिकाइ, नविनतम अभ्यास तथा उत्कृष्ट उदाहरणको आदान प्रदान गर्ने, स्वास्थ्य क्षेत्रका राष्ट्रिय तथा प्रादेशिक प्राथमिकता, नीति, मापदण्ड साथै प्राविधिक विषयवस्तु प्रति साझा वुझाइ कायम गरी सेवा प्रवाहमा एकरुपता सुनिश्चित गर्ने, स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था, आवश्यकता तथा प्राथमिकताका क्षेत्रहरु पहिचान गरी कार्य योजना तयार गर्ने उद्देश्यले समीक्षा कार्यक्रमको आयोजना गरिएको हो ।
स्वास्थ्यका २६ वटा सुचक रहेका छन् । यिनै धेरैजसो सुचक सुधारात्मक अवस्थामा रहेको देखिएको छ । पुर्वमन्त्री माधव चौलागाईले बार्षिक समिक्षा कार्यक्रममा भने, केही स्वास्थ्य सुचक सुधार गर्नुपर्ने भएपनि धेरैजसो सुचक सुधारात्मक रहेको देखिन्छ । यसमा सवै सरोकारवाला निकायको समन्वयत्मक ढंगले काम गर्नु पर्छ । जसले गर्दा सहज हुने देखिन्छ ।
यसमा केही स्वास्थ्यकर्मी कमर्चारीको दरवन्दी र बजेटको अभाव देखिन्छ । यसलाई पनि सुधार गर्नुपर्ने देखिएको पुर्वमन्त्री चौलागाईले बताए । उनले भने, जुम्लामा ठुलो स्वास्थ्य संस्था कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ । यसले गर्दा पनि जुम्लाको स्वास्थ्य सेवामा सहज भएको हो । प्रतिष्ठान अलवा अन्य स्वास्थ्य संस्था पनि छन् । उनीहरुको आधारभुत स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान रहेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग, जुम्लाकी प्रमुख कल्पना नेपाल आचार्यले स्वास्थ्यका धेरै कुरा राम्रा हुदाँ हुदै पनि मानसिक स्वास्थ्य, प्रजनन् स्वास्थ्य, जथाभावी गर्भनिरोधक चक्की, गर्भपतन, खानपान, नसर्ने रोग, पहुचयोग्य ब्रथिङ सेन्टर बृद्धि लगायतका विषयमा प्रथामिकता दिनुपर्ने बताईन् । उनले भनिन्, अहिले जस्तो समयमा पनि घरमै सुत्केरी हुने पनि कुरा सुनिएको छ, यसलाई न्यूनिकरण गनुपर्ने अवस्था देखिएको छ । आगामी योजना बनाउदा यस्तो सुधार गर्नुपर्ने अवस्थालाई प्रथामिकतामा राखिर योजना बनाउनु पर्दछ ।
समीक्षा कार्यक्रममा जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माले धेरै कुरा हुदाहुदै पनि सुधार गर्नुपर्ने पक्षहरु रहेको बताए । उनले भने, दरवन्दीको कमी, सिप विकास तथा क्षमता अभिबृद्धि गर्नुपर्ने, मातृ मृत्युदर, किशोरी प्रजजनदर, होमडेलिभरी, एसबीए, एसएचपी तालिम, तालिम प्राप्त स्वास्थ्कर्मी जिम्मेवार नहुनु जस्ता पक्षहरु सुधार गर्नुपर्ने देखिएको छ ।
यस्तै खोप खेर जाने दर बढी, ढुवानी, खोप केन्द्र तथा सेसन संख्या, तथ्यांक व्यवस्थापन नहुनु, समयमा बैठक समीक्षा नहुनु, समयमा रिपोटिङ नहुनु, तथ्यांक समयमा डिएचआइएसटुमा प्रविष्ट नहुने अवस्थालाई सुधार गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
जुम्लामा अस्पताल एक वटा, प्रथामिक स्वास्थ्य केन्द्र एक वटा, स्वास्थ्य चौकी २९ वटा, आधारभुत स्वास्थ्य सेवा केन्द्र २७ वटा, सामुदायिक स्वास्थ्य इकाई ११ वटा र शहरी स्वास्थ्य केन्द्र एक वटा गरी ७० वटा स्वास्थ्य संस्था रहेका छन् । यस्तै यहाँको ६० वडामा स्वास्थ्य सेवालाई टेवा पु¥याउनका लागि ५३७ जना महिला स्वयम् सेविका रहेका छन् ।
तर स्वास्थ्यकर्मीको दरवन्दीका अभावका कारण कतिपय आधारभुत र सामुदायिक स्वास्थ्य ईकाई वन्द रहेका छन् । जसले गर्दा स्वास्थ्य सेवा प्रभावित भईरहेको छ । समीक्षा कार्यक्रममा जवाफदेही व्यक्तिहरु जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जनस्वास्थ्य निर्देशनालयका प्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।
यहाँको कुल जनसंख्या एक लाख १९ हजार १८८ मध्ये प्रजनन् उमेरका महिला ३४ हजार ५५३ जना, अनुमानित गर्भवती महिला २ हजार ७४६ जना, अनुमानित जिवित जन्म २ हजार ३३२ जना, ५ वर्षमुनिका बालबालिका ११ हजार १२८ जना, २ वर्षमुनिका बालबालिका ४ हजार ६०७ जना, एक वर्षमुनिका बालबालिका २ हजार ३३२ जना रहेका छन् ।




