
जुम्ला । नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवस जुम्लामा पनि भव्य रुपमा मनाइएको छ । दिवशका अबसरमा नेपाल पत्रकार महासंघ जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका सुत्केरीलाई फलफूल वितरण गरिएको छ ।
महासंघका अध्यक्ष नेत्र बहादुर शाही सहित जिल्ला स्थित पत्रकारहरुको उपस्थितिमा अस्पतालका २५ जना सुत्केरीलाईलाई फलफुल वितरण गरिएको हो ।
सुत्केरी महिलाको स्वास्थ्य लाभको कामना गर्दै सुन्तला केरा लगायतका फलफूल वितरण गरिएको नेपाल पत्रकार महासंघका सचिव मानदत्त रावलले बताउनुभयो । उहाँले आगामी दिनमा पत्रकार महासंघले सामाजिक हितका कार्यलाई बढाउदै जाने उल्लेख गर्नुभयो ।
यसैगरी महासंघले जिल्ला स्थित पत्रकारहरुको विचमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । पत्रकार महासंघ जुम्लाको हलमा सम्पन्न कार्यक्रममा पत्रकारहरुको आफ्नो हक अधिकार तथा जिल्लामा मिडियाको अवस्था बिषयमा वहश र छलफल गरेका छन् ।
महासंघको स्थापना दिवसमा अवसरमा अध्यक्ष नेत्रबहादुर शाहीले जुम्लामा उर्वर रुपमा उदाईरहेको पत्रकारिताको संरक्षण तथा पत्रकारहरुको अधिकारको बिषयमा महासंघको पहिलो प्रथामिकता हुने बताउनुभयो ।

महासंघ अध्यक्ष शाहीले महासंघका भईरहेका कामको बिषयमा प्रस्तुती समेत गर्नुभएको छ । पत्रकार महासंघ जुम्लाले एक बर्षमा प्रेस शिविर गरेर प्रेस पास वितरण, २ वटा क्षमता अभिबृद्धि तालिम, कोभिडमा आईसुलेशन सेन्टर निर्माण, कोभिडमा माक्स सेनिटाईजर बितरण महासंघमा सूचना केन्द्र स्थापनाको शुरुवात, सहित विभिन्न काम गरेको जानकारी गरिएको छ ।
महासंघले कोरोनाको बिचमा महिलाका सवाल, वालवालिकाका सवाल, मानव अधिकारका सवाल, विमानस्थलको सवाल, विपतको सवाल, यातायातको सवाल सहित सामाजिक सवालमा पहल गरेको गरेको बताएको छ ।

महासंघका अध्यक्ष शाहीले भावी योजना पत्रकारको क्षमता अभिबृद्धि गर्ने, पत्रकार सम्मान कोष स्थापना गर्ने, सूचनालाई थप सजिलो बनाउन पहल गर्ने, पुस्तकालय स्थापना गर्ने, सूचना केन्द्र स्थापना गर्ने, महासंघको भवन मर्मत तथा बिस्तार गर्ने रहेको जानकारी दिनुभयो ।
स्थापना दिवसको अवसरमा संस्थापक अध्यक्ष नरेन्द्रनाथ योगीले महासंघले सामाजिक काम गरेको देख्दा खुशी लागको बताउनुभयो । उहाँले स्थापना काल र यूद्ध कालमा थोरै पत्रकारहरुले कठिन परिस्थितिमा महासंघको जन्म भएको भन्दै अव थप राम्रो गर्दै जानुपर्नेमा शुभकामना दिनुभयो ।
महासंघका पूर्वध्यक्ष भिम कसिंगरले पत्रकारिता क्षेत्रमा खोजमुलक पत्रकारिता जोड दिनुपर्ने बताउनुभयो । उहाँले समाचार र सूचनालाई भिन्नता गरेर समाचार संकलन गर्नुपर्नेमा जोड दिनुभयो ।
शुभकामना दिदै प्रेस सेन्टरका अध्यक्ष धनबहादुर बुढाले महासंघ र संचार माध्यामको सहकार्य थप बलियो हुनुपर्ने बताउदै पत्रकारहरुलाई क्षमता विकास तालिम दिनुपर्ने बताउनुभयो ।
प्रेस चौतारीका प्रदेश सदस्य तथा रेडियो कर्णालीका सम्वाददता कालिबहादुर नेपालीले महासंघले गरेका राम्रा कामहरुको प्रशंशा गर्दै आगामी दिनमा थप राम्रो गर्नुपर्नेमा जोड दिनुभयो ।
महासंघका सहसचिव सागर परियारले सहजीकरण गर्नुभएको शुभकामना आदान प्रदान कार्यक्रममा स्थानीय संचार माध्यम नारीका स्टेशन म्यानेजर लक्ष्मी न्यौपाने, खुला आकाशका स्टेशन म्यानेजर मानबहादुर कुँवर, नासो अनलाईनका सपना न्यौपाने सहित विभिन्न पत्रकारहरुले सूझाव सहित शुभकामना दिनुभएको थियो । महासंघले आफ्नो स्थापना दिवसको अवसरमा देशभर स्थापना दिवस मनाएको छ ।



