कर्णाली राजमार्ग सुधारको माग गर्दै सांसद कठायतद्धारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

जुम्ला । साविक कर्णालीको लाईफ लाईन मानिएको कर्णाली राजमार्ग स्तरोन्नतिको माग गर्दै प्रतिनिधि सभामा सार्वजानिक महत्वको प्रस्ताव दर्ता भएको छ । प्रतिनिधि सभा सदस्य विनिता कठायतको पहलमा मृत्युमार्गका रुपमा कहलिएको कर्णाली राजमार्ग सुधारको माग गर्दै सार्वजानिक महत्वको प्रस्ताव प्रतिनिधि सभामा बुधबार दर्ता भएको हो ।

प्रतिनिधि सभा सदस्य बिनिता कठायत प्रस्तावक रहेको प्रस्तावमा सांसदहरू सोबिता गौतम, मैना कार्की, अम्मरबहादुर थापा, अनिशा नेपाली, कान्तिका सेजुवाल, चन्द्रबहादुर विश्वकर्मा, गणेश पराजुली, शिव नेपाली, विराजभक्त श्रेष्ठ, मनिष झा, निशा डाँगी, सुमना श्रेष्ठ, तोसिमा कार्की, चन्द्रा कार्की, लक्ष्मी तिवारी, छिरिङ लामाले समर्थनमा प्रस्ताव दर्ता भएको गरिएको छ ।

कर्णालीको आर्थिक समृद्धी र जीविको पार्जनसंग जोडिएको कर्णाली राजमार्गको स्तरोन्नतिमा संघिय सरकारको ध्यान केन्द्रित गर्न प्रतिनिधि सभामा सार्वजानिक महत्वको प्रस्ताव दर्ता गरिएको सांसद विनिता कठायतले कर्णाली मिसनलाई जानकारी दिईन् ।
कर्णाली राजमार्गको स्तरोन्नति गर्दै सम्भावित सार्वजनिक सवारीसाधनको दुर्घटनाको रोकथाम र नियन्त्रण सम्बन्धी छलफल गर्न प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७१ बमोजिम प्रस्तावको सूचना दर्ता गरिएको छ ।

प्रस्तावमा भनिएको छ, ‘पुरानो कालोपत्रे पूर्ण रूपमा उप्किएको छ भने ठाउँठाउँमा बनेका खाल्डाले दुर्घटनाको जोखिम बढेको छ । साँघुरो बाटो र द्वन्द्वकालमा निर्माण कार्यमा बिलम्ब भएकाले निर्माण कार्य पूर्ण हुन नसकेकाले यो मार्गमा यात्रुलाई सास्ती भएको छ । सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाण्डु जाने सवारीसाधन बीच बाटोमा रोकिँदा सयौं यात्रुहरू अलपत्र पर्ने गर्दछन् । राजमार्ग पुनःस्थापना मात्र नभई सडक कालोपत्रेका लागि सरकारले बजेट छुट्याउन सके कर्णालीका लागि दीगो विकासमा टेवा पुग्नेछ ।’

प्रकाशित मिति : २०८१ भाद्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस