जुम्ला । नेपालीको महान चाड दशैँ तिहार नजिकीएसंगै जुम्लामा महंगी बढेपछि सर्वसाधारण मर्कामा छन् । चाडपर्वकै मुखमा दैनिक उपभोग्य वस्तु चामल,तेल लगायतका वस्तुको मुल्य बढपछि सर्वसाधारण मर्कामा परेका हुन् । दशैँ नजिकीदै गर्दा हाल सम्म चाड पर्व लक्षित एक पटक मात्रै बजार अनुगमन भएको छ । फेरी बजार अनुगमन गर्ने कुनै सुरसार छैन् ।
चाडपर्व लक्षित बजार अनुगमन तीब्र रुपमा नहुँदा एकाएक बढेको महंगीले कमाई नहुने सर्वसाधारणलाई दशैँको जोहो गर्नै मुस्किल भएको छ । बजारमा दैनिक उपभोग्य वस्तुको अस्भाविक मुल्यबृद्धि प्रति प्रशासनले कुनै चासो नदिएको चन्दननाथ नगरपालिका ४ का स्थानीय देवी प्रसाद सिम्खडाले गुनासो पोखे ।
उनले भने,‘दशैँ तिहार नजिकीए संगै जुम्लामा एकाएक महंगी बढेको छ । विहान बेलुका छाक टार्न मुस्किल हुने,कमाई नै नभएका घर परिवारलाई भने महंगीले दशैँको जोहो गर्नै मुस्किल भएको छ । छुट मुल्यको चामल लिन जाँदा पनि बाक्लो भीडले पाउने स्थिती छैन् । सदरमुकाम संगै ग्रामिण बजारमा चाडपर्व लक्षित बजार अनुगमन नियमित हुनुपर्छ ।’
सबैभन्दा अस्वभाविक रुपमा आर्शिवाद चामलको मुल्य बढेको छ । २२÷२३ सय पर्ने उक्त चामल हाल २७ सय ५० रुपैयामा विक्री भईरहेको छ । तेलको मुल्य पनि त्यस्तै बढेको छ । हुँदा हुँदा सरकारी अनुदानको चामलको पनि मुल्य बृद्धि भईसकेको छ । केहि महिना अघि २२ सय रुपैया बोरा पाईने जीरा स्ट्रिम चामलको मुल्य हाल छुट दिएर पनि २३ सय ७५ रुपैयामा खाद्य व्यवस्था तथा व्यापार कम्पन्नीले विक्री गरिरहेको छ ।
तर बजारमा किन मुल्य बढ्यो ? सरकारी अनुदानको चामलको मुल्य पनि किन बढ्यो ? बजारमा अखाद्य वस्तुको विक्री रोक्न लगायतका विषयमा बजार अनुगमनको नियामक निकाय जिल्ला प्रशासन कार्यालयनै मौन देखिएको छ । जसका कारण उपभोक्ता गठिने क्रम रोकिएको छैन् ।
औपचारिकतामा सिमित बजार अनुगमनले उपभोक्ता गठिने क्रम नरोकिएको हो । पटक पटक अनुगमन गर्नुपर्ने र मुल्य सूचि नटास्ने,अखाद्य वस्तु विक्री गर्ने जोसुकै व्यापारीलाई कानुन बमोजिम जरिवाना गर्नुपर्ने स्थानीयको माग छ । यदपी, उपभोक्ता ठग्ने,अखाद्य वस्तु बेच्ने क्रम निर्वाध भईरहेपनि हाल सम्म कुनै पनि व्यापारीलाई कारबाही भएको अबस्था छैन् ।
तर चाडपर्व लक्षित बजार अनुगमन तिब्र रुपमा हुने र उपभोक्ता ठग्ने जोसुकैलाई कानुन अनुसार कारबाही गर्ने जुम्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही बताउँछन् । स्वच्छ बजार र स्वस्थ नागरिक बनाउनु राज्यको दायित्व हो । उनले भने,‘आफुखुसी मुल्य बढाउने,मुल्य सूचि नराख्ने,अखाद्य वस्तु बेच्ने व्यापारी संग अब कुनै सहमती हुदैन् । कानुन अनुसार कारबाही प्रक्रियामा जान्छौ । सामान किन्दा उपभोक्ता पनि बढी सचेत हुन जरुरी छ ।’
बजारमा मुल्य बढेको,ग्रामिण बजारमा अनुगमन नभएको भन्ने गुनासो बढेकोले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय,सम्बन्धित पालिका संग समन्वय गरी ठोस कार्य योजनानै बनाएर चाड पर्व लक्षित ग्रामिण बजार अनुगमन तथा कारबाही प्रक्रियालाई युद्धस्तरमै अघि बढाउने प्रजिअ शाहीले उल्लेख गरे ।



