जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा डाक्टरकाे अभावले भिडियो एक्सरे सेवा ठप्प भएको छ । डाक्टर नहुँदा एक्सरे सेवा ठप्प भएपछि उपचारका लागि आएका विरामीहरू मारमा परेका छन् ।
भिडियो एक्सरे गराउने रेडियोलोजिका डाक्टर दुई हप्तादेखि प्रतिष्ठानमा बिना जानकारी अनुपस्थित भएकाले सेवा प्रभावित भएको हो ।
प्रतिष्ठानका निमित्त उपकुलपति डाक्टर डब्ब वहादुर धामीले रेडियोलोजि डाक्टरको खाेजी भइरहेको बताए । काम गरी रहनु भएका डाक्टर सम्पर्क विहिन भएकाले नयाँ डाक्टरको खोजिमा रहेको उनको भनाइ छ ।
अति आवश्यक विरामीलाई भिडियो एक्सरे सेवा उपलब्ध गराए पनि अन्य विरामीले भिडियो एक्सरे सेवा पाउन सकेका छैनन् ।
छोराको उपचारमा प्रतिष्ठानमा जानु भएका गुठिचौर–५ देपालगाउँका नन्दराम नेपालीले भिडियो एक्सरे सेवा उपलब्ध नभएको गुनासो पाेखे ।
छोरालाई पेट दुख्ने समस्याले प्रतिष्ठान पुगेपनि भिडियो एक्सरे नहुँदा समस्या पहिचान नभएको उनको भनाइ छ । प्रतिष्ठानले डाक्टरको समस्या देखाउँदै भिडियो एक्सरे सेवा दिन नसकेको प्रतिक्रिया दिएको छ ।
प्रतिष्ठानमा दैनिक दर्जनौँ विरामी उपचारका लागि पुग्ने गरेका छन् । जसमा हड्डी तथा आन्तरिक अंगको परीक्षणका लागि भिडियो एक्सरे अत्यावश्यक हुन्छ । तर भिडियाे एक्सरे सेवा अबरुद्व हुँदा समस्या भएकाे छ ।




