जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा जम्मा ११० वटा मतदान केन्द्न रहेका छन् । भने ८५ वटा मतदान स्थल छन् । जसमध्य५२ वटा मतदानस्थललाई अति सम्वेदनशीलका रूपमा राखिएको छ ।
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण ढंगबाट अघि बढाउन सुरक्षा संयन्त्रले मतदान स्थल अनुगमनदेखि सुरक्षाकर्मी परिचालन तथा अन्य तयारीलाई तिब्र पारेको छ ।
मतदानस्थललाई शान्तिपूर्ण र भयरहित बनाउनका लागि सुरक्षा निकायले मतदानस्थलको तीन तहमा वर्गीकरण गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रबिन बाबू रेग्मी बताए।
एक नगरपालिका सहित सात गाउँपालिका रहेको जिल्लामा जिल्लाभरी ८५ वटा मतदानस्थलमध्ये ५२ वटालाई अति सम्वेदनशील रुपमा वर्गीकरण गरिएको छ । १८ वटा मतदानस्थललाई सम्वेदनशील रुपमा राखिएको छ ।
१५ वटा मतदानस्थललाई सामान्य रुपमा राखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रेग्मीले जानकारी दिए । जिल्लामा ११० वटा मतदान केन्द्रमध्ये २५ वटा सम्वेदनशील मतदान केन्द्रको रुपमा वर्गीकरण गरिएको छ । ६४ वटा मतदान केन्द्रलाई अति सम्वेदनशीलमा राखिएको छ ।
भौगोलिक कठिनाई, सूचना संचार पहुँचको अभाव, सुरक्षा चुनौती लगायतका आधारमा सामान्य,संवेदनशील र अतिसंवेदनशील गरी वर्गिकरण गरिएको छ ।
२१ वटा मतदान केन्द्रलाई सामान्य रुपमा राखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रेग्मीको भनाइ छ । निर्वाचनका लागि जिल्लामा कुल जम्मा मतदाता संख्या ७१ हजार ७३९ जना रहेकाछन् ।
कुल मतदातामध्ये महिला मतदातातर्फ ३४ हजार २८० जना र पुरुष मतदातातर्फ ३७ हजार ४५९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले बताए ।
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र निर्वाचन प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।



