जुम्ला । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका जुम्लाका ६ जना उम्मेदवारको जमानत नै जफत भएको छ । प्रतिनिधि सभा तर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जुम्लामा एक स्वतन्त्र सहित १० जना चुनावी मैदानमा थिए । जसमध्य ६ जना उम्मेदवारले गणना भएको सदर मतको १० प्रतिशत कटाउन नसकेपछि जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जानकारी दिएको छ ।
जुम्लामा रहेका कुल ७१ हजार ७३९ मतदाता मध्य ४० हजार ८७८ मत खसेको थियो । खसेको मतमध्य गणना गर्दा १७ सय ५ मत बदर भयो । भने बाँकी सदर भएको ३९ हजार ३९ हजार १७३ मतको १० प्रतिशत मत आफ्नो पक्षमा ल्याउन नसक्ने रास्वपाकी उम्मेदवार विनिता कठायत सहित ६ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिपेन्द्र कँडेलले बताए ।
देशभर जनलहर भएको रास्वपाकी उम्मेदवार कठायतले जुम्लामा जीत भन्दा पनि धरौटी रकम जोगाउने समेत मत ल्याउन सकिनन् । उनले कुल गणना भएको मत मध्य ४२१ मत मात्रै प्राप्त गरिन् । निर्वाचन सम्बन्धी ऐनमा गणना भएको सदर मतको १० प्रतिशत मत अनिवार्य ल्याउनु पर्ने व्यवस्था छ । यो हिसाबले जुम्लाका ६ उम्मेदवारले सदरमत ३९ सय १७ ल्याउनु पर्ने थियो, त्यो मत नआएपछि जमानत जफत भएको हो ।
जमानत जफत हुनेमा प्रगतिशील लोकतान्त्रिक पार्टी का मनऋषि धितालले (११२), नेमकिपाका विर्षबहादुर रावत ले (४००) नेकपा (माओवादी) का विर्ख शाही ले (७१), नेजपाका रनील विक्रम शाही ले (४३) र स्वतन्त्र उम्मेदवार भक्त बहादुर रावलले )१४) मत मात्रै प्राप्त गर्दा कानुनतह धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जानकारी दिएको छ ।
सांसद नदोहोरयाउने एतिहासको क्रमभंगता गर्दै राष्टिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही जुम्लाबाट दोस्रो पटक निर्वाचित भएका छन् । उनी आफ्ना निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार नरेश भण्डारी लाई ३ हजार २४१ मतान्तरले पराजित निर्वाचित भएका हुने । निर्वाचित शाहीले १४ हजार ८१६ मत प्राप्त गरेका छन् ।



