गमगढी, मुगु ।
मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ११ पर्ने साविक रोवा गाविश सालिम गाउँका स्थानीयबासीका लागि बर्खायाम सुरु भएसँगै फेरि कहालीलाग्दो रातको सिलसिला सुरु भएको छ।
वि.सं. २०७९ साल असोज महिनाको २५ गते आएको अविरल वर्षा र भीषण बाढीपहिरोले ८ जनाको ज्यान लिएको त्यो कालो दिन सम्झिँदै अहिले पनि यहाँका स्थानीय बासिन्दा डरले काँप्ने गर्छन्। आकाशमा बादल मडारिने बित्तिकै सालिमबासीको आँखाबाट निद्रा गायब हुन्छ र उनीहरू रातभर जागरण बस्न बाध्य हुन्छन्।
५ वर्षदेखि चर्केकै घरमा जोखिमपूर्ण जीवन कटाउँदै आइरहेका स्थानीय बासी बाँच बहादुर एडि भन्नु हुन्छ…….
पहिरोको उच्च जोखिममा रहेको सालिम गाउँमा विपद् आएको वर्षौँ बितिसक्दा पनि सुरक्षित स्थानान्तरण वा तटबन्धको कुनै ठोस पहल हुन सकेको छैन।
स्थानीयबासीहरू भन्छन विगत ५ वर्ष अगाडिदेखि पहिरोले चर्केका र भत्किन लागेका उनै पुराना घरहरूमा ज्यान हत्केलामा राखेर बस्न विवश छौ “आकाशबाट पानी पर्न थालेपछि कुन बेला पहिरोले पुर्ने हो भन्ने डरले रातभर सुत्न सकिँदैन, साना केटाकेटी समातेर सुरक्षित ठाउँ खोज्दै हिँड्नुपर्छ, सालिम गाउँकि स्थानीयवासी मन्दिरा सावत ले आफ्नो पीडा पोखिन अहिलेसम्म कुनै पनि संघसंस्था प्रदेश सङ्घ र स्थानीय सरकारले नहेरेको बताएकि छिन।
विपद् लगत्तै केही राहत र आश्वासन पाए पनि स्थायी समाधानका लागि स्थानीय सरकार सङ्घ सरकार र प्रदेश सरकारबाट र जिल्ला विपद व्यवस्थापन समिति बाट अहिलेसम्म कुनै प्रभावकारी कदम चालिएको छैन।
सुरक्षित बस्ती विकास वा जोखिम न्यूनीकरणका कार्यक्रमहरू कागजमै सीमित हुँदा गरिब र असहाय स्थानीयबासीहरू प्रकृतिसँग सम्झौता गरेर बस्न बाध्य छन्। ५ वर्ष अघिको चर्केको घर र २०७९ को सामूहिक मृत्युको झल्कोले बस्ती नै विस्थापित हुने अवस्थामा पुगेको छ।
बर्खाको समयमा सडक र सञ्चार ठप्प हुने मुगुको भौगोलिक विकटताका कारण यहाँ थप मानवीय क्षति हुन नदिन सम्बन्धित निकायले तत्काल ध्यान दिनु जरुरी छ। सालिम गाउँलाई पहिरोको जोखिमबाट बचाउन वा बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न ढिलाइ गरिएमा फेरि अर्को ठूलो दुर्घटना निम्तिन सक्ने निश्चित छ।




