जुम्लाको खलंगा बजारस्थित यातायात कार्यालय नजिक शनिबार साँझ करिब ६:३० बजे भएको स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा दैलेख जिल्ला घर भएका अन्दाजी ४०–४१ वर्षीय मीनबहादुर साहुद रहेका छन्।उनी सुनौलो पञ्चदेवल यातायात प्रा.लि.मा सहायक बुकिङ इन्चार्जका रूपमा कार्यरत रहेको खुलेको छ। उक्त कम्पनीको प्रधान कार्यालय नेपालगन्ज–४, बाँकेमा रहेको छ।
प्रारम्भिक जानकारीअनुसार उनले खलंगा बजारमा पार्किङ गरी राखिएको सुमित्रा रावल भण्डारीको कर्णाली प्रदेश क.प्र.०१–००१ प २७८२ नम्बरको स्कुटर लिएर भाग्ने क्रममा अनियन्त्रित भई दुर्घटनामा परेका हुन्।
दुर्घटनापछि उनी सडकमै गम्भीर घाइते अवस्थामा छटपटाइरहेका थिए। सोही समयमा घटनास्थल पुगेका कर्णाली मिसनका संवाददाता आकाश सुनारले तत्काल अटो रोकी घाइतेको उद्धार गरेका थिए। स्थानीयको सहयोगमा उनलाई तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्ला पुर्याइएको थियो।
उपचारका लागि आकस्मिक कक्षमा लगिए पनि अस्पताल पुगेको करिब १०–१५ मिनेटपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। अस्पताल स्रोतका अनुसार उनको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।
घटनापछि स्कुटर सुमित्रा रावल भण्डारीको रहेको खुलेको छ। प्रारम्भिक अनुसन्धानमा स्कुटर चोरी गरी भाग्ने क्रममा दुर्घटना भएको देखिए पनि घटनाको विस्तृत कारणबारे जिल्ला प्रहरी कार्यालय जुम्लाले अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले घटनास्थलको मुचुल्का उठाई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।
घटना भएको स्थान खलंगा बजारको व्यस्त सडकखण्ड भएकाले दुर्घटनापछि केही समय स्थानीयको भीड लागेको थियो। घाइतेको तत्काल उद्धार भए पनि उनको ज्यान बचाउन भने सम्भव हुन सकेन।




