जुम्ला – जुम्लामा करिव एक महिना अवधिमा २ वटा महोत्सवको आयोजना गरिने मिति तय गरिएको छ । व्यापारीहरुको छाता संगठन उद्योग बाणिज्य संघ जुम्लाले साउन २२ देखि भदौँ ५ गतेसम्म महोत्सव सञ्चालन गर्ने मिति तय गरेको छ । यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाले पनि भदौँ ७–१६ गतेसम्म दोस्रो बृहत् महोत्सव सञ्चालन गर्ने मिति तय गरेको छ । दुवै आयोजकले महोत्सवको स्थान चन्दननाथ नगरपालिका – ५ राजासिम नै तोकेका छन् । महोत्वसको प्रकृति पनि एउटै किसिमको हुने देखिएको छ ।
प्रतिष्ठानले कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव –२०८३ भनेको छ भने उद्योग बाणिज्य संघले कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव–२०८३ नै भनेको छ । एकै प्रकृतिका र एकै महिना भित्र २ वटा महोत्वस यहाँका नागरिकदेखि प्रशासनले थेक्न सक्ने नसक्ने विषयमा विवादित बन्न थालेको छ । उद्योग बाणिज्य संघ जुम्लाले सार्वजनिक गरेको कलाकारहरुको सुचिमा स्थानीय कलाकार समाबेश नगरिएको भन्दै सोसल मिडियामा आलोचना भई रहेको छ ।
सञ्चालन हुने महोत्सवका दुई आयोजक बीच टसल भएको र विवाद चुलिदै गएको छ । सोमबार विहान राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जुम्ला र उद्योग बाणिज्य संघ जुम्लाका पदाधिकारी बीच बैठक पनि निस्कर्ष विहिन बनेको थियो ।
दुई वटै आयोजकले एउटै महोत्सव सञ्चालन गर्नुपर्ने यहाँका धेरैजसो नागरिकको सुझाव छ । उद्योग बाणिज्य संघ जुम्लाका पूर्व अध्यक्ष गोविन्द शाहीले पनि बाणिज्य संघकै पत्रकार सम्मेलनमा दुई आयोजक बीच समन्वय गरी एउटै महोत्सव सञ्चालन गर्नुपर्ने सुझाएका छन् ।
चन्दननाथ नगरपालिका – ५ का वडाध्यक्ष विर्खबहादुर कार्कीका अनुसार दुवै आयोजकले महोत्सव सञ्चालनका लागि वडाबाट सिफारिस लिएका छन् । उनले भने, सेवाग्राही आएपछि वडाले सिफारिस नदिने कुरा हुदैन । तर आयोजक आफैले २ वटा महोत्सव सञ्चालन गर्दा उचित हुने नहुने विचार गर्नुपर्ने हो । समन्वय गरी एउटै महोत्सव सञ्चालन गर्नु उपयूक्त हो ।
नेपाल पत्रकार महासंघ जुम्ला शाखाका अध्यक्ष पूर्णप्रसाद चौलागाईंका अनुसार एउटै समयमा फरक–फरक संस्थाले महोत्सव गर्ने तयारी सार्वजनिक गरेपछि कार्यक्रमको समय व्यवस्थापन, दर्शक सहभागिता, व्यवसायिक प्रभाव तथा समन्वयका विषयमा स्थानीय स्तरमा चासो बढेको देखिएको छ । दुई संस्था बीच समन्वय गरी एउटै महोत्सव सञ्चालन गर्दा राम्रो हुन्थ्यो ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जुम्लाका अध्यक्ष विश्वराज खत्रीका अनुसार भने प्रतिष्ठानले नै महोत्सवको मिति तय गरी सार्वजनिक गरेको हो । वडा, नगरपालिका र प्रशासनदेखि प्रतिष्ठानले महोत्सव सञ्चालनका लागि सिफारिस अगाडी लिएको हो । तर यसमा उद्योग बाणिज्य संघले बलमिच्याई गर्न खोजेको हो । उनले भने, अहिले प्रतिष्ठानले महोत्सवको तयारी अगाडी बढाएकोले उद्योग बाणिज्य संघलाई संरक्षकको भुमिका निर्वाह गरीदिन अनुरोध गरौँ । तर उहाँहरुले मान्नु भएको छैन । महोत्सव सञ्चालन गर्ने विषयमा प्रतिष्ठान पछि हड्ने छैन । यस विषयमा प्रतिष्ठानले प्रशासनमा उजुरी पनि गर्ने तयारी गरेको छ ।

उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष दिलबहादुर रोकायाका अनुसार महोत्सवको तयारी गरिरहेका छौँ । बाहिरबाट समान आउदै छ । प्रतिष्ठानसँग पनि समन्वयको प्रयास भएको छ । एक चरणको बसाई पनि भएको हो । तर कुरा निचोडमा आएको छैन ।
प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईका अनुसार महोत्सवका आयोजक दुवै पक्षलाई समन्वय गरी सञ्चालन गर्न भनेका छौँ । उनले भने, यसमा शान्ति सुरक्षामा सम्झौता गर्न मिल्दैन । शान्ति सुरक्षामा खलल पुग्ने अवस्था देखिएपछि महोत्सव सञ्चालन भएकै अवस्थामा रोक्न सकिन्छ । यदी त्यस्तो शान्ति सुरक्षामा समस्या आएमा रोक्छौँ पनि ।




