सामाजिक रुपान्तरणको अभियानमा सर्बाेदय नेपाल

जुम्ला – सर्बाेदय विकासका लागि अभियान नेपाल (सर्बाेदय नेपाल) सन् २००६ (२०६२ पुस २५) मा जिल्ला प्रशासन कार्यालय, जुम्लामा दर्ता भएको एक सामाजिक संस्था हो । यो संस्थाले हालै स्थापना भएको २० औँ वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । समाजमा पछाडि पाएका, सीमान्तकृत र अवसरबाट बञ्चित भएका वर्गका व्यक्तिहरुको आवाज बनेर सामाजिक अभियानका रुपमा सर्बाेदय नेपाल अघि बढि रहेको छ ।


कर्णाली प्रदेशको जुम्ला सामाजिक रुपान्तरणका रुपमा पछि परेका जिल्ला हो । यहाँ महिनावारी, विभेद, बालविवाह, जातीय विभेद, लैगिंक विभेद, महिला हिंसा जस्ता सामाजिक कुरिति कुस्कार हानिकारण अभ्यासले सदियौँदेखि जगडिएको छ । यसै विरुद्धको आवाज बनेर सर्बाेदय नेपाल अघि बढिरहेको छ ।


एक÷दुई दशक अघि महिनावारी हुदाँ महिला तथा किशोरी घरदेखि बाहिर छुईगोठमा बस्ने चलन थियो । महिनावारी भएको अवस्थामा घरभित्र बस्दा देउता रिसाउन्छन् र विरामी परिन्छ भन्ने मान्यता थियो । अहिले विस्तारै त्यो सामाजिक हानिकारक अभ्यास कम हुदै गएको छ । महिनावारी भएको अवस्थामा सरसफाई गर्ने र घरभित्रै बस्नेसम्म महिला तथा किशोरी भएका छन् । भान्सा र पुजा कोठमा भने जाने गरेको देखिदैन । यति भएपनि स्वास्थ्य र सुरक्षाका दृष्टिकोणले महिला तथा किशोरी सुरक्षित भएको महसुस हुने गरेको छ ।


गुठीचौरकी विद्यालक्ष्मी बुढालाई पहिला महिनावारी हुदा डरको क्षण हुन्थ्यो । महिनावारी हुदा घरबाहिर बस्नु पर्छ र असुरक्षितको महसुस हुने गरेको थियो । यस्तै महिनावारी भएको बेला पोषिला खानेकुरा दुध दही खान हुदैन भन्ने थियो । पछि विस्तारै सर्बाेदय नेपाल र इटालियन फाउण्डेसनको सहयोगमा किशोरी क्लव गठन भयो । विद्यालक्ष्मी त्यो क्लवमा आवद्ध पनि भईन् । क्लवमा आवद्ध भएपछि उनले महिनावारी विभेदसँगै प्रजनन् स्वास्थ्य, पोषण, बालविवाह र किशोरी अधिकारका विषयमा सिक्ने अवसर पाईन् । महिनवारी भनेको प्राकृतिक रुपमै हुने कुरा हो । महिनावारी विभेद गर्नु हुदैन भन्ने बुझाई विद्यालक्ष्मीलाई भयो । विद्यालक्ष्मीले महिनावारी प्राकृतिक प्रक्रिया हो भन्ने बुझाईलाई अभियानका रुपमा सञ्चालन गर्दै आएकी छन् ।


बालविवाह पनि यहाँको सामाजिक हानिकारक अभ्यास हो । यहाँको धेरैजसो किशोरकिशोरी सानै उमेरमा विवाह गर्ने पहिले देखिको चलन हो । बालविवाहका असर र प्रभावका विषयमा बुझ्दै गएपछि यहाँका किशोरकिशोरी बालविवाह विरुद्धको अभियान सञ्चालन गर्न थालेका छन् । गुठीचौरकी १६ वर्षीया रीमा कुमारी बस्नेतलाई पनि पहिले बालविवाह सामान्य जस्तो लाग्थ्यो । गाउँघरका साथी भाई छरछिमेकीले सानै उमेरमा विवाह गरेपछि यो एउटा चलन हो । सवैले एक पटक गर्नु नै पर्दछ भन्ने बुझाई थियो । रीमाले बालविवाहले शिक्षा र स्वास्थ्यमा पार्ने असरका विषयमा बुझेपछि सोच परिवर्तन भएको बताईन् । विवाह भन्दा पनि पहिलो आफ्नो स्वास्थ्य र शिक्षालाई प्रथामिकता दिनु पर्दछ । सोही अनुसार नै हाम्रो गाउँघरमा बालविवाह विरुद्धको अभियान सञ्चालन गर्दै आएको रीमाले बताइन् ।


सर्बाेदय नेपाल जुम्लाले विद्यालक्ष्मी र रीमा जस्ता सयौँ किशोरीलाई आफ्नो अभियानमा जोडेर सामाजिक रुपान्तरणको आवाज बनेको छ । उनीहरुको जीविकोपार्जनको सवालदेखि प्रजनन् स्वास्थ्य, सशक्तिकरण गर्दै समाजको सक्षम नागरिक बनाउन प्रयास गर्दै आएको छ । सर्बाेदय नेपाल, जुम्लाले पहिलो चरण सन् २००६ देखि २०११ सम्म शान्ति, अधिकार र लोकतन्त्रको सवालमा काम गर्दै आएको हो । यसमा मानवअधिकार संरक्षण, शान्ति निर्माण, दण्डहीनताको विरोध र द्धन्द्ध प्रभावित क्षेत्रमा लोकतान्त्रिक संक्रमणको वकालत र सहजीकरण गर्दै आएको हो । यसैसँग लक्षित परियोजनाहरु, गरिवि, विपन्न र पछाडी पारिएका समुदायहरुको सामाजिक आर्थिक सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्दै आयो ।


दोस्रो चरणमा क्षेत्रगत विविधिकरण सन् २०१२ देखि २०१७ सम्म जीविकोपार्जन, खानेपानी तथा सरसफाई स्वच्छता र प्रारम्भिक लैगिंक समानता, सामाजिक सशक्तिकरणका क्षेत्रमा कार्यक्रम सञ्चालन गरेको हो । तेस्रो चरण सन् २०१८ देखि २०२१ सम्म संस्थागत सुदृढिकरण, सशक्तिकरण, जलवायू, विपद् जोखिम न्यूनिकरण र जैविक विविधता र साँझेदारीमा परियोजना तथा कार्यक्रम सञ्चालन गरेको हो । यसमा जलवायू परिवर्तन अनुकुलन, विपद् जोखिम न्यूनिकरण र जैविक विविधता वातावरणीय संरक्षण कार्यक्रम सञ्चालन गरिएको सर्बाेदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्रीले बताए । उनले भने, त्यतिबेला जुम्लाबाट अछाम, कालिकोट र दैलेखसम्म कार्य क्षेत्र पनि विस्तार भएको थियो ।


चौँचो चरण सन् २०२२ देखि २०२६ अन्र्तगत फेमीसँग नयाँ साँझेदारी सन् २०२२ मा सुरुवात बहु वर्षीय परियोजना आय, उत्पादन, महिला सशक्तिकरण, लैगिंक समानता, आय र खाद्य सुरक्षा, प्रजनन् स्वास्थ्यका क्षेत्रका विषयमा कार्यक्रम सञ्चालन गरिएको हो । सन् २०२५ देखि २०३० सम्म रणनीतिक योजनाको सुरुवात भएको थियो । सरोकारवालाहरुको प्रतिक्रिया र सुझावलाई प्रमुख प्रथामिकतामा राखिएको छ । यसमा विशेष गरी लैगिंक हिंसा, लैगिंक संवेदनशीलता, खाद्य सुरक्षा र जीविकोपार्जन, वातावरणीय जैविक विविधता, खानेपानी तथा सरसफाई स्वच्छता, पोषण र जलवायु उच्थानशील विपद् जोखिम न्यूनिकरण रहेको छ । युएन वुमनसँगको नयाँ साँझेदारीमा लुम्बिनी, गण्डकी, कोशी र सुदुरपश्चिम प्रदेशमा प्राविधिक पहुँच विस्तार गर्दै यूनडिपीसँगको साँझेदारीमा अनुदान कार्यक्रम अन्तर्गगत जुम्ला र ल्यान्डस्केप रणनीतिक दस्तावेजीकरण गरिएको छ ।


सर्बाेदय नेपाल, जुम्ला प्रमुख विषयगत क्षेत्रहरुमा जम्मा ४४ हजार ७६ जना लाभग्राहीसम्म पुगेको छ । यसमा लैगिंक समानता, सामाजिक समावेशीकरण तथा महिला सशक्तिकरणमा सवैभन्दा धेरै १६ हजार ४१८ जना लाभग्राहीमा पुगेको देखिन्छ । यसले महिला सशक्तिकरण, समावेशीकरण र सामाजिक न्यायमा केन्द्रित भएको देखाउँछ । विपद् जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तनसम्वन्धी कार्यबाट ९ हजार ९८७ जना लाभग्राही रहेका छन् । स्वास्थ्य तथा सरसफाईमा ८ हजार ३२ जना, खाद्य सुरक्षा तथा कृषि प्रवद्र्धनमा ५ हजार ४१७ जना, बालिका शिक्षा तथा क्षमता सुदृढीकरणबाट २ हजार ३ सय जना, आयआर्जन तथा जीविकोपार्जनबाट १ हजार ९२२ जनाले लाभ लिएको तथ्यांकमा देखिन्छ । समग्रमा तथ्यांकले लैगिंक सशक्तिकरण, उत्थानशीलता, खानेपानी, सरसफाई, जीविकोपार्जन र शिक्षलाई थप सुदृढ गर्ने अवसर तथा योगदान पुगेको देखिन्छ ।

लाभग्राही, सरोकारवाला निकायका व्यक्ति तथा प्रतिनिधिहरुबाट प्राप्त सुझावलाई ग्रहण गर्दै आगामी कार्यदिशा तय गर्ने गरेको सर्वोदय नेपाल, जुम्लाका अध्यक्ष नारायणी चौलागाईंले बताइन् । उनले भनिन् संस्थाले सधै लैंगिक समानता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा महिला, बालिका, दलित, जनजाति तथा अन्य सीमान्तकृत वर्गलाई प्रथामितामा राखेर परियोजना तय गर्ने गरेको छ ।


जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सर्वोदय नेपाल, जुम्लाले महिला तथा बालबालिका, समाजमा पछाडि पाएका सिमान्तकृत वर्गको जीविकोपाजर्नदेखि सशक्तिकरणको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताए । यो संस्था महिला तथा किशोरीमैत्री हो । संस्थाको कार्यसमितिमा अध्यक्षदेखि सदस्यसम्म महिला रहेका छन् । उनले भने, संस्थाले स्थानीय तहदेखि सरोकारवाला निकायसँग समन्वय सहकार्य गर्दै काम गरेको देखिन्छ ।


महिला, बालबालिका तथा पछाडि पारिएका सिमान्तकृत वर्गका सवाललाई नीतिगत रुपमा प्राथमिकता दिने गरेको कर्णाली प्रदेश सभाकी उप–सभामुख यशोदा न्यौपानेले बताइन् । सर्वोदय नेपाल, जुम्लाको २० औँ बार्षिक साधारण सभा सामाजिक परीक्षण कार्यक्रममा पुगेकी उप–सभामुख न्यौपानेले यस्तो बताएकी हुन् । उनले संस्थाले दुई दशकदेखि महिला तथा किशोरीको सशक्तीकरणका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरेकी छन् ।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार
प्रतिक्रिया दिनुहोस