स्व.दीप बहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार भण्डारी पुरस्कृत

जुम्ला ।  जुम्लाका अग्रज पत्रकार कर्ण बहादुर भण्डारी स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार-२०८३ बाट पुरस्कृत भएका छन् । स्व. दीपबहादुर स्मृति प्रतिष्ठान जुम्लाले ६५ वर्षीय भण्डारीलाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरेर सम्मान गरेको हो ।  

मंगलबार तातोपानी-६ रावतबाडामा आयोजित एक भव्य समारोहका बीच भण्डारीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । 

२५ वर्षभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका भण्डारीलाई पत्रकारिता मार्फत पुराएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको स्व.दीप बहादुर स्मृति प्रतिष्ठानका अध्यक्ष शुभाकर विश्वकर्माले बताए । उनका अनुसार भण्डारीसंगै प्रतिष्ठानमार्फत जुम्लाका ५ जना क्रियाशील पत्रकार पुरस्कृत भईसकेका छन् । 

तातोपानी गाउँपालिका–६ का स्थायी बासिन्दा तथा क्रियाशील पत्रकार शुभाकर विश्वकर्माले आफ्ना स्वर्गीय बुबा दीपबहादुरको स्मृतिमा पुरस्कार कोष स्थापना गरेर विभिन्न सामाजिक रुपान्तरणको काम गर्दै आएका छन् ।

उहाँले पत्रकार शुभाकर विश्वकर्माले आफ्ना स्वर्गीय बुबाको सम्झनामा स्थापना गरेको पुरस्कार कोष स्मरणयोग्य र प्रशंसनीय कार्य भएको बताए। साथै, जुम्लाका क्रियाशील पत्रकारलाई प्रोत्साहन र सम्मान गर्ने प्रतिष्ठानको प्रयासप्रति उनले धन्यवाद व्यक्त गरे । कार्यक्रममा पूर्वराज्यमन्त्री गोमा गौतमले जुम्लाका अग्रज पत्रकार भण्डारी पुरस्कृत हुनु भएकोमा बधाई तथा शुभकामना व्यक्त गरिन्  । 

उनले जिल्लामा क्रियाशील पत्रकारलाई सम्मान तथा प्रोत्साहन गर्ने परम्पराको सुरुवात गरेकोमा पत्रकार शुभाकर विश्वकर्माको प्रशंसा गरिन्  । निष्पक्ष, स्वतन्त्र र व्यावसायिक पत्रकारितालाई यस्ता पुरस्कारले थप हौसला प्रदान गर्ने उनको भनाइ छ ।

त्यसैगरी, जुम्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले प्रतिष्ठानको गरिमा र विश्वसनीयता कायम राख्न स्वच्छ छवि भएका तथा पत्रकारितामा निरन्तर योगदान पुराएका पत्रकारलाई पुरस्कृत गर्नुपर्ने सुझाव दिए । 

वर्तमान समयमा यूवा कुलतमा फसिरहेका बेला बुबाको सम्झनामा शुभाकर विश्वकर्माले गरेको काम सबैका लागि प्रेरणादायि रहेको उल्लेख गरे । 

समाज रुपान्तरणको पवित्र उदेश्य बोकी बुबाको आत्मालाई अमर राख्न गरिएका प्रेरणादायी काम हरुलाई निरन्तरता दिन प्रजिअ प्रसाईले आग्रह गरे । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिस्ट्रार प्रकाशचन्द्र खत्रीले पत्रकारिता क्षेत्रमा कर्णालीबहादुर भण्डारीले पु¥याउनु भएको योगदान महत्वपूर्ण रहेको बताए । जीवनभर पत्रकारितामा सक्रिय व्यक्तिलाई सम्मान गर्नुले प्रतिष्ठानको गरिमा समेत बढाउने उनको भनाइ छ ।  पत्रकार शुभाकर विश्वकर्मासंग पैसा धेरै भएर कोष खडा नभएको भन्दै सेवा भावले पुरस्कृत देखि अन्य सामाजिक कार्य गर्ने भावना पलाएको उल्लेख गरिन् । 

आफु पनि पत्रकारिता क्षेत्रबाटै अघि बढेको स्मरण गर्दै उनले व्यक्तिगत प्रयासबाट स्थापना गरिएको पुरस्कार कोषलाई दिगो बनाउन अन्य संघसंस्था तथा निकायले समेत सहयोग गर्नुपर्ने धारणा राखे

तातोपानी गाउँपालिका–६ का वडाध्यक्ष विशाल खड्काले पत्रकारको मनोबल बढाउन व्यक्तिगत तवरबाट पुरस्कार कोष स्थापना गर्नु सामान्य विषय नभएको बताए । 

उनले पत्रकारलाई निष्पक्ष र जिम्मेवार भएर समाचार सम्प्रेषण गर्न सुझाव दिँदै पत्रकारिताको व्यावसायिक गरिमा कायम राख्न आग्रह गर्नुभयो । स्वर्गीय दीपबहादुर स्मृति पत्रकारिता पुरस्कारले जिल्लामा क्रियाशील पत्रकारलाई प्रोत्साहन गर्नुका साथै स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताको विकासमा योगदान पुराउने अपेक्षा गरिएको छ । 

प्रतिष्ठानको पाँचौ संस्करणमा पुरस्कृत हुन पाउँदा पत्रकार कर्ण भण्डारीले खुसी व्यक्त गरे । पुरस्कारले २५ वर्षको कर्मको सम्मानसंगै हौसला र जिम्मेवारी प्रदान भएको भण्डारीले उल्लेख गरे । 

प्रकाशित मिति : २०८३ कार्तिक २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस