१४ वर्षीया बालिकामाथि ससुराबाट करणी, श्रीमान्बाट कुटपिट; दुवै पक्राउ

मोरङको कानेपोखरी गाउँपालिकामा १४ वर्षीया बालिकामाथि ससुराले जबर्जस्ती करणी गरेको घटना सार्वजनिक भएको छ। घटनाबारे थाहा पाएपछि श्रीमान्ले उल्टै प्रतिकार नगरेको आरोप लगाउँदै श्रीमतीलाई कुटपिट गरी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको खुलेको छ।


जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत कात्तिक २९ गते राति ५५ वर्षीय ससुराले १४ वर्षीया बुहारीमाथि जबर्जस्ती करणी गरेका थिए। त्यसबारे जानकारी पाएपछि २३ वर्षीय श्रीमान्ले आफ्नी आमाको उपस्थितिमा श्रीमतीलाई गालीगलौज गर्दै कुटपिट गरेका थिए। उनले उक्त घटनाको भिडियो आफैँ बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।


भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले मंसिर ९ गते ससुरालाई जबर्जस्ती करणी र श्रीमान्लाई साइबर कसुरमा पक्राउ गरेको हो।


मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेका दुवै जनामाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ। उनीहरूमाथि जबर्जस्ती करणी, विद्युतीय अपराध तथा बालविवाहसम्बन्धी कसुरमा समेत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


पीडितको पहिचान सार्वजनिक नगर्न प्रहरीको आग्रह
घटनासँग सम्बन्धित भिडियो भाइरल भएपछि पीडित बालिकाको नाम, ठेगाना, तस्बिर तथा भिडियो सार्वजनिक भइरहेकोप्रति प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।


प्रहरीले पीडित बालबालिका तथा महिलाको पहिचान खुल्ने सामग्री सामाजिक सञ्जालमा पोस्ट गर्ने वा समाचारका रूपमा सार्वजनिक गर्ने कार्य नगर्न आग्रह गरेको छ। पीडितको गोपनीयता भङ्ग गर्ने र आपत्तिजनक सामग्री प्रसारण तथा सेयर गर्ने व्यक्तिमाथि कानुनबमोजिम कारबाही हुन सक्ने डीएसपी मिश्रले चेतावनी दिएका छन्।


महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिविरुद्ध हुने अपराधका घटनामा शून्य सहनशीलताको नीति अपनाएर अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ मङ्सिर ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस