
बुधबार, २४ माघ २०७४
चरिकोट । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले २ अर्ब ६४ करोडबराबरको सेयर जारी गर्ने तयारी गरेको छ । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन ४ सय ५६ मेगावाटको आयोजनाले चैतको पहिलो सातासम्म सेयर जारी गर्ने तयारी गरेको हो ।
माघ अन्तिमसम्म धितोपत्र बोर्डको स्वीकृति आइसक्ने र फागुन अन्तिमदेखि चैतको पहिलो हप्ताभित्र सेयर संकलन गर्ने आन्तरिक तयारी रहेको माथिल्लो तामाकोसी आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए ।
आयोजना निर्माण गरिरहेको ‘अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेड’ले २ करोड ६४ लाख कित्ता सेयर जारी गर्ने तयारी गरेको छ । त्यसमध्ये स्थानीयलाई १ अर्ब ५ करोड र अन्य सर्वसाधारणलाई १ अर्ब ५८ करोड रुपैयाँको सेयर दिने कम्पनीले जनाएको छ ।
धितोपत्र बोर्डको स्वीकृति प्राप्त हुनासाथ सेयर निष्कासनको आवश्यक प्रक्रिया अघि बढ्नेछ । प्रभावित क्षेत्रले बढी सेयर पाउने सहमति यसअघि नै भइसकेको प्रवक्ता डा. न्यौपानेले बताए । उनले भने, ‘आयोजना निर्माणका क्रममा भएको प्रभावका दृष्टिले दोलखावासीलाई तीन वर्गमा बाँडेर सोहीअनुसार सेयर लगानीको अवसर दिइनेछ ।’
पूर्वसहमतिअनुसार आयोजनाका मुख्य संरचनाहरू रहेको साविकका गाविस लामाबगर र गौरीशंकरका बासिन्दालाई क वर्ग, सडक मार्ग र प्रसारण लाइनले छुने क्षेत्रका बासिन्दा ख वर्ग र अन्य जिल्लावासीलाई ग वर्गमा वर्गीकरण गरिएको छ ।
ग वर्गमा परेका नागरिकले न्यूनतम ५० कित्ता सेयर लगानी गर्न पाएमा क वर्गकाले १ सय ५० कित्तासम्म सेयर खरिद गर्न सक्ने आयोजनाले जनाएको छ । आयोजनाले यसअघि नै २ अर्ब ५४ करोडबराबरको सेयर जारी गरिसकेको छ ।
लागत बढ्दो
प्रतिमेगावाट १४ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको निर्माण अवधि बढेपछि लागतसमेत बढ्ने भएको छ । अन्तिम प्रक्षेपणअनुसार आयोजनाको लागत बढेर ४६ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।
बढ्दो ब्याजदर र विनिमय दरका कारण कम्पनीको दायित्व बढेकाले लागत बढेको आयोजनाले जनाएको छ । कम्पनीले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, दूरसञ्चार प्राधिकरण र राष्ट्रिय बिमा संस्थानबाट करिब २० अर्व रकम ऋण लिइसकेको प्रवक्ता न्यौपानेले बताए ।
क–कसले पाउँछन् सेयर
दोलखावासीमध्ये सेयर लगानीका लागि तोकिएको अन्तिम मितिसम्म जन्मदर्ता भएका बालबालिका र विवाह भई आएका महिलाले विवाहदर्ता प्रमाणपत्रका आधारमा सेयर पाउँछन् । त्यस्तै, दोलखा जिल्लावासीले नागरिकता प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने हुन्छ ।
सेयर दिने प्रयोजनका लागि जिविस दोलखाले ३ वर्षअघि संकलन गरेको तथ्यांकअनुसार दोलखाको जनसंख्या २ लाख ८० हजार ५ सय ८४ छ । तामाकोसीको लगानी सम्झौता भएको मिति २०६४ माघ १५ गतेभित्र बसाइँ सरी दोलखा आएकाहरूले पनि सेयर खरिद गर्न पाउने व्यवस्था छ ।
आयोजना प्रभावितपछि साधारण सेयर
धितोपत्र बोर्डले एकैपटक स्वीकृति दिए पनि आयोजनाले प्रभावित दोलखा जिल्लावासीको सेयर संकलन गरेपछि मात्र साधारण सेयर जारी गर्नेछ । आयोजनाका प्रवक्ता डा. न्यौपानेका अनुसार प्राविधिक कारणले पनि दुवै सेयर एकैपटक जारी गर्दा झन्झटिलो हुने भएकाले स्थानीयलाई सेयर निष्कासन गरिसकेपछि साधारण सेयर (आइपिओ) निष्कासन हुनेछ ।
अन्नपुर्ण पोष्टबाट साभार