अमेरिका, उत्तर कोरिया वार्ता गर्ने कुराले राष्ट्रसंघका महासचिव उत्साहित

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस

काठमाडौं । अमेरिका र उत्तर कोरियाबीच वार्ता हुने कुराले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस उत्साहित भएका छन् । गुटेरसका प्रवक्ता स्टेफन डुजारिकले शुक्रबार एक वक्तव्य जारी गर्दै यस्तो बताएका हुन्।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव अनुसार कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि भएको प्रयासमा सहभागी नेताहरुको प्रशंसा गर्दै गुटेरसले उक्त कदमप्रति पूर्ण सर्मथन जनाएको वक्तव्यमा उल्लेख छ।

उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियाका प्रतिनिधिमार्फत अमेरिकासँग वार्तामा बस्न गरेको प्रस्तावमा बिहीबार ट्रम्पले सहमति जनाएका थिए। साथै आगामी मे महिनामा वार्ता गर्ने ट्रम्पले घोषणा गरिसकेका छन्।

शुक्रबार नै चिनियाँ राष्ट्रपति सी जिन पिङ र अमेरिकी राष्ट्रपति ट्रम्पबीच कोरियाली प्रायद्वीपको समस्या समाधानका बारेमा टेलिफोन वार्ता भएको थियो । वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले कोरियाली प्रायद्वीपको समस्या समाधानका लागि अमेरिका(उत्तर कोरिया बीच वार्ता हुने कुरामा आफ्नो सहयोग र समर्थन रहने कुरा बताएको चिनियाँ सञ्चार माध्यामले जनाएका छन्।

प्रकाशित मिति : २०७४ फाल्गुन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस