६ वर्षसम्म पनि आइपुग्दैन भारतीय रेल काठमाडौँमा, कसरी ?

काठमाडौँ ः नेपाल–भारतबीच रक्सौलदेखि काठमाडौंसम्म विद्युतीय रेल ६ वर्षसम्म पनि नआइपुग्ने अनुमान गरिएको छ ।
हालसम्म सम्भाव्यता अध्ययनको काम सुरु नभएको यस ठूलो आयोजनाको पूर्वतयारीलाई एक वर्षमै सम्पन्न गर्दा पनि ६ वर्ष लाग्ने बताइएको हो ।

गत शुक्रबार ३ दिने भारत भ्रमणका लागि गएका प्रधानमन्त्री केपी शर्मा वलीले रक्सौल–काठमाडौँ विद्युतीय रेलमार्गबारे विषेश छलफल गरेका थिए ।

सोहीअनुसार शनिबार नेपाल–भारतबीच रक्सौल–काठमाडौँ विद्युतीय रेलमार्गको प्रारम्भिक सर्वेक्षण कार्य एक वर्षसम्म सम्पन्न गर्ने लक्ष्य निर्धारण गरी सम्झौता गरिएको छ ।

रेल विभागले भने सम्भाव्यता अध्ययन, विस्तृत आयोजना प्रतिवदेन (डिपिआर) र ठेक्का लगाउने काम नै दुइवर्ष लाग्ने बताएको छ ।

यी काम सम्पन्न गरेर निर्माण कार्य सुरु गरेपछि पनि रक्सौल भएर गुड्ने भारतीय रेल काठमाडौंसम्म ल्याउन ६ वर्ष लाग्ने विभागको भनाई छ ।

रेल विभागका महानिर्देशक अनन्त आचार्यका अनुसार यसअघि नै सम्भाव्यता अधययन गरिसकेको थियो भने डिपिआर तथा निर्माण ठेक्काको काम एक वर्षमै सकिने थियो ।

आयोजनाको निर्माणको चरण कहिले ?

भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिने भनिएको काठमाडौँ रक्स्यौल विद्युतीय रेलमार्गको तत्कालै सम्भाव्यता अध्ययन थालीने बताइएको छ ।

अध्ययनको काम सम्पन्न गरिसकेपछि मात्रै डिपीआर तयार गरिनेछ ।

तायार पारिएको डिपीआर अनुसार आयोजनाको निर्माण हुनेछ ।

उक्त आयोजनाको विस्तृत आयोजना प्रतिवेदन निर्माण सम्पन्न भइसकेपछि भारत–नेपालबीच लगानीको ‘मोडालिटी’ र कार्यान्वयनलाई अन्तिम रूप दिइने काम हुनेछ ।

आयोजना निर्माणका लागि लगानी, अनुदान, काम गर्ने कम्पनी लगायतको टुङ्गो लागेपछि मात्रै अयोजनाको निर्माण कार्य अगाडी बढ्नेछ ।

संयुक्त कार्यदल कहिले हुन्छ गठन ?

तीन दिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किसकेका प्रधानमन्त्रीले भ्रमण सफल भएको दाबी गरेका छन् ।

दुई देशविचको सम्बन्ध अझै प्रगाढ बन्ने बताउँदै प्रधानमन्त्रीले विकासे आयोजनाबारे उठान गरिएको विषयले सार्थकता पाउने समेत बताए ।

सोही भ्रमणका बेला भएको दुई देशबीचको सहमतिअनुसार नेपाल–भारतबीच रक्सौलदेखि काठमाडौंसम्म विद्युतीय रेलका विषयमा नेपाल–भारत संयुक्त कार्यदल चाँडै गठन हुने भएको छ ।

‘हालसम्म रेल क्षेत्र हेर्ने गरी दुई देशबीच कार्यदन गठन गरिएको थिएन’, महानिर्देशक आर्चायले भने ‘ यसले रेलमार्ग निर्माण तथा अन्तरदेशीय रेल सञ्चालनमा देखिन सक्ने र देखिएका समस्या समाधान गर्नेछ ।’

काम छिटो भए २०१८ भित्रै आउँछ रेल

भारत सरकारको सहयोगमा निर्माण भइरहेको भारतको जयनगरदेखि नेपालको बिजलपुरासम्म ५२ किलोमिटरको रेलमार्गको काम छिटो भए २०१८ भित्रै सम्पन्न सकिने बताइएको छ ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणमा भएको सहमतिअनुसार जयनगर–जनकपुर–कुर्था र जोगबनीदेखि विराटनगर भन्सार कार्यालयसम्म जोड्ने रेलमार्गको काम २०१८ भित्रैमा सम्पन्न गर्ने प्रतिवद्धता गरेका छन् ।

रेल विभागका अनुसार भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–जनकपुर–बर्दिबास (६९ किमि) मध्ये जयनगर–जनकपुर–बिजलपुरा (५२किमि) को ट्र्याक बेड तथा स्ट्रकचरको राख्ने काम अन्तिम चरणमा पुगेको छ ।

बिजलपुरादेखि बर्दिबास (१७ किमि) खण्डको पनि तयारीको काम भइरहेको विभागको भनाई छ ।

प्रकाशित मिति : २०७४ चैत्र २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस