अमेरिका, बेलायत र फ्रान्सको सेनाले सिरियामा मिसाइल आक्रमण गरेका छन् । गत साता सिरियाको पूर्वी गुटामा गरिएको सन्दिग्ध रासायनिक हमलाको जवाफस्वरूप अमेरिकी नेतृत्वले शनिबार बिहानदेखि सिरियाविरुद्ध आक्रमण गरेको हो । संयुक्त सुरक्षा फौजले सिरियाली सैन्य अखडालाई निसाना बनाएको छ ।
सिरियामा सन् २०११ देखि चलिरहेको गृहयुद्धमा अमेरिकालगायत देश विद्रोहीको पक्षमा छन् भने रसिया र इरान राष्ट्रपति बसर असदको पक्षमा छन् । आक्रमणले सिरियाको रासायनिक ठेगाना ध्वंस भएको अमेरिकी दाबी छ ।
अमेरिकी गठबन्धनले प्रहार गरेका १०३ मध्ये ७१ क्षेप्यास्त्र सिरियाली सेनाले खसालेको रसियाली रक्षा मन्त्रालयले जनाएको छ । क्षेप्यास्त्र हमलामा तीनजना घाइते भएको सिरियाको सरकारी समाचार संस्था सानाले जनाएको छ ।
सिरियामा कति भयो क्षति ?
आक्रमण शनिबार बिहानबाट सुरु भएको थियो । राजधानी सहर दमास्कस र होम्सवरपरका क्षेत्रहरूमा विस्फोटका ठूला आवाज सुनिएको र आकाशमा धुवाँको मुस्लोका कारण त्यहाँ ठूलो क्षति भएको अनुमान छ । आक्रमणमा सिरियाली सरकारी कार्यालय र राष्ट्रपतीय कार्यालयवरपरका क्षेत्रलाई लक्ष्य बनाइएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले हमलामा कम्तीमा तीन स्थानलाई निसाना बनाइएको जानकारी दिएका छन् । शनिबार दमास्कसको मुख्य चोकमा सर्वसाधारण भेला भएर राष्ट्रपतिको समर्थनमा नारा लगाएका थिए ।
उता, रसियाको आग्रहमा सुरक्षा परिषद् स्थायी समितिको आपत्कालीन बैठक बसेको छ । बैठकमा रसियाले आक्रमणको निन्दा गर्नुपर्ने प्रस्ताव राखेको छ भने अमेरिकाले भने सिरियाले आक्रमण आफै निम्त्याएको टिप्पणी गरेको छ ।