जनप्रतिनिधि नै जातिय विभेदमा

शोभाकर विश्वकर्मा, जुम्ला
जुम्लामा अझै पनि जातिय विभेद कायमै छ । जातको आधारमा कुनैपनि विभेद गर्न नहुने सविंधानले नै ब्यवस्था गरेको छ । सो अनुसार जातिय छुवाछुत फौजदारी अपराध भनिएको छ, तर कार्यान्वयन भने भएको पाईदैन । जुम्लामा कतिपय जातिय विभेदका घटना वा ब्यवहारहरु बाहिरी रुपमै देखिन्छन्, त कतिपय नदेखिने गरी जातिय विभेद भैरहेका छन् । परम्परागत सोच र धार्मिक विश्वासका कारण समाजमा अँझै पनि जातिय विभेद विद्यमान छ । सरकारी तथा गैर सरकारी निकाय, संचार माध्ययम लगाएतका विभिन्न निकायबाट जातिय विभेद न्युनिकरणका लागि भएका चेतना अभिबृद्धि कार्यक्रमले अँझै सार्थक नपाएको देखिन्छ । तर जुम्लामा भष्टाचार, कुरीति, कुसंस्कृति न्युनिकरण गर्दै समाजमा विकास गर्ने, जातिय, बर्गिय विभेदको अन्त्य गरी नागरिक स्वतन्त्रता सहितको समाज निर्माण गर्ने लगाएतका प्रतिबद्धता जनाउँदै नागरिकले जिताएका जनप्रतिनिधि नै जातिय विभेदको मारमा परेका छन् ।
माथिल्लो जातका जनप्रतिनिधिहरुमा परम्परागत जातिय विभेदको सोच कायमै रहेकोले आफुहरु जातिय विभेदको मारमा परेको दलित जातिका जनप्रतिनिधिले बताए । आफुहरु दलित भएकै कारण गाउँकार्यपालिकाको बैठकदेखि विभिन्न सभासम्मेलनमा समेत सहकर्मीबाटै हेपिएको तितो अनुभव दलित जनप्रतिनिधिसंग छ । तातोपानी गाउँपालिका वडा नम्बर ५ की वडा सदस्य दुरुपति नेपालीले आफु दलित भएकै कारण सार्वजनिक ठाउँमा समेत कैयौँ पटक हेपिनु परेको बताईन् । ‘वडा नम्बर ५ अन्तर्गत लाम्रा गाउँमा बाहुनको बाहुल्य छ । वडापालिकाका ब्राहामण सदस्यहरु बैठकमा आफुले छोएको पानी समेत पिउदैनन्, म दुखित हुनुुका साथै जातिय आधारमा हेपिएको महशुस भएको छ’ उनले भनिन्, ‘मलाई दलित एकल महिला भनेर गाउँका धामी झांक्रीले समेत छुन मान्दैनन् ।’
‘स्थानीय तह कार्यन्वयनमा आएपछि जातिय विभेदको अन्त्य हुनुपर्ने हो, तर झन्, हावी भएको छ । जातिय विभेद गर्ने जनप्रतिनिधि नै छन् । जातिय विभेदको मारमा पनि जनप्रतिनिधि नै छौँ । गाउँका सिधा नागरिकमाथि जातिय विभेद भएको कस्ले देख्छ, उनले भनिन् ।’ अझै पनि दलित र ब्राहमणबस्ती रहेको गाउँमा सार्वजनिक काममा होस् या समाजभित्र जातिय छुवाछुतको अवस्था उस्तै रहेको तातोपानीका लोकबहादुर परियारले बताए । ‘धारामा माथिल्लो जातका ब्यक्तिले पानी भरिसकेपछि मात्र हामीले भर्नुपर्छ, सहजै उनिहरुको भाँडाकुँडा छुन पनि मिल्दैन । यस्तो जातिय विभेद गाउँसमाजका जनप्रतिनिधिकै घरमा हुन्छ’ उनले भने, अन्य गाउँका मान्छे कसरी सुध्रिन्छन् । के हामीले जातकै आधारमा सँधै सबै कुरामा विभेद खेपिरहनुपर्ने हो, त होईन भने, जनप्रतिनिधिका जातिय विभेदका अभियान खै ?’ भनेर सरोकारवाला प्रति प्रश्न गरिन् । उनले हालसम्म आफु जातिय विभेद परेको कतै पनि उजुरी नदिएको भनिन्

प्रकाशित मिति : २०७५ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस