नगरपालिकालाई चुनौति दिँदै सरसफाई अभियानमा जुटे स्थानीय

जुम्ला ः जिल्ला सदरमुकामस्थित चन्दननाथ नगरपालिका ५ कालेखोली भण्डारीवाडाका स्थानीय आफै सरसफाईमा जुटेका छन् । आइतबार समाजसेवी रत्नचन्द्र उपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कालेखोली टोल सुधार समिति गठन गरी सरसफाई अभियान सुरु गरिएको हो । कालेखाली देखि भण्डारी वडासम्म विभिन्न स्थानमा फोहोर संकलन गर्ने फोहोर मलाई भन्ने ड्रम राखिएको छ ।

सबै स्थानीय तथा व्यापारीहरुले एक ठाउँ अर्थात ड्रममा फोहोर संकलन गर्ने गरे नगरपालिकाले फोहोर उठाउन सहज हुने अध्यक्ष उपाध्यायले बताए । स्थानीय आफैले प्रत्येक व्यक्तिले पाँच सय रुपैया उठाएर फोहोर संकलन गर्ने ड्रम खरिद गरी जैविक अजैविक फोहोर संकलन गरी फरक फरक ड्रममा राख्ने गरिएको छ । ‘हामीले आफै रकम संकलन गरी फोहोरका नाला सरसरफाई गरेका छौँ’ स्थानीयले सबैकाम आफै गर्नुपर्दा स्थानीय सरकार नभएको अनुभुति भएको स्थानीय कृष्ण सुनारले बताए ।
नगरपालिकालाई चुनौति दिँदै स्थानीय
चन्दननाथ नगरपालिकाले व्यवस्थित रुपमा फोहोर संकलन गर्ने नगरेको स्थानीयले गुनासो गरेका छन् । नगरपालिकाले पहिले भन्दा दोव्वर राजश्व संकलन गर्ने तर सोही अनुसार सेवा सुविधा नदिने गरेको स्थानीय बताएका छन् । सिफारिस, नविकरण वा अन्य दस्तुरमा पहिलो सय रुपैया लिएको तर त्यसलाई बढाएर दुईसय रुपैया अर्थात दोव्वर कर असुली गर्ने तर भने जस्तो सुविधा पुर्याउन नसकेको स्थानीय राजबहादुर भक्रीले बताए ।

उनले भने ‘अहिलेसम्म दिर्घकालिन फोहोर व्यवस्थापनका लागि डम्पिङ साईडको व्यवस्था गरेको छैन ।’ चन्दननाथ नगरपालिकामा १० वटा वडा छन्, सबै वडामा पुगेर नगरपालिकाले फोहोर संकलन नगर्ने भएकाले स्थानीय नै सक्रिय भएर फोहोर संकलन गर्नुपर्ने अवस्थामा आएको टोल सुधार समितिका अध्यक्ष उपाध्यायले बताए ।

प्रकाशित मिति : २०७५ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस