स्कर्टिङमा खटिएका प्रहरीमाथि विप्लवका कार्यकर्ताद्वारा आक्रमण

डोल्पा ः डोल्पाको ठुलीभेरी नगरपालिका–९ मा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले प्रहरीमाथि आक्रमण गरी पक्राउ परेका आफ्ना जिल्लास्तरीय नेतालाई भगाएको छ ।

नेपाल बन्दको सिलसिलामा आइतबार पक्राउ परेका नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको जिल्ला सदस्य सागर शाहीलाई स्कर्टिङ गरेर जिल्ला प्रहरी कार्यालय दुनै डोल्पातर्फ लैजाँदै गर्दा प्रहरीमाथि आक्रमण भएको हो ।

ठुलीभेरी नगरपालिका–९ अन्तर्गत पर्ने भेत्तिडाँडोमा नेकपाका जिल्ला इन्चार्ज अजित विष्टको नेतृत्वमा आएको पाँचजनाको समूहले प्रहरी हवलदार धनसिंह कठायत र प्रहरी जवान जयलाल बस्नेतमाथि ढुङ्गा प्रहार गरी आक्रमण गरेका थिए ।

त्यसक्रममा उनीहरूले प्रहरीको पक्राउ गरेर लैजाँदै गरेका शाहीलाई छुटाएर लगेको प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।

आक्रमणबाट प्रहरी हवलदार कठायत र प्रज बस्नेतलाई सामान्य चोट लागेको बताइएको छ ।

छिटो भन्दा छिटो आक्रमणकारीलाई पक्राउ गर्नको लागि त्रिपुराकोट जुफाल कालागौडा र दुनैबाट ईन्सपेक्टरको नेतृत्वमा ३५ जनाको संख्यामा प्रहरी परिचालन गरिएको पनि डिएसपी शर्माले जानकारी दिए ।

नेपाल बन्दको क्रममा बजार बन्द गराउँदै हिँडेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका अन्तरगत पर्ने त्रिपुराकोट बगरबजारबाट डोल्पा मुड्केचुला गाउँपालिका–९ घर भएका नेकपाका जिल्ला सदस्य सागर शाहीलाई त्रिपुराकोट प्रहरीले पक्राउ गरेर राखेको थियो ।

प्रकाशित मिति : २०७५ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस