डोल्पा । विद्यार्थीलाई उच्च हिमाली भेगमा पर्ने यार्सा पाटनमै शिक्षाको व्यवस्था गरिएको छ ।सरकारको घुम्ती विद्यालय संञ्चालन अनुदान कार्यक्रम मार्फत यस बर्ष डोल्पाका ६ वटा यार्सागुम्बा पाटनमा घुम्ती विद्यालय सञ्चालन गरिएको हो ।
अभिभावकसँगै यार्सागुम्बा संकलन गर्न पाटन पुगेका विद्यार्थीहरुलाई शिक्षाको अवसर प्रदान गर्नका लागि घुम्ती बिद्यालय सञ्चालन गरिएको शिक्षा बिकास तथा समन्वय ईकाइका शाखा अधिकृत सिँहराज डाँगीले जानकारी दिए ।
उक्त कार्यक्रम अन्तर्गत घुम्ती विद्यालयमा पढ्न आउने बिद्यार्थीहरुका लागि किताब, कापी, कलम, खाजाको व्यवस्था समेत गरिएको छ । झन्डै डेढ महिनासम्म सञ्चालन गरिने घुम्ती विद्यालयमा एउटा कक्षाका लागि तीन जना शिक्षक र एक प्रधानाध्यापक संयोजक रहने गरी जनशक्तिको व्यवस्थापम गरिएको शिक्षा अधिकृत डाँगीले बताए ।
घुम्ती विद्यालयमा पढ्न आउने विद्यार्थीलाई पाठ्यक्रम अनुसार आधारभुत र माध्यामिक तहको शिक्षण गरिने डाँगीको भनाई छ । डोल्पामा बिगतका बर्षहरुमा विभिन्न यार्सागुम्बा पाटनहरुमा सञ्चालन भएको घुम्ती विद्यालय कार्यक्रम सफल भएकाले यसबर्ष पनि उक्त कार्यक्रम लागू गरिएको डाँगीको भनाई छ ।
हिमाली यार्सा पाटनमा अध्यापन गराएबाफत एक शिक्षकले बीस हजारका दरले तलब पाउनेछन् ।