जुम्लामा राष्ट्रिय सहकारी बैंकको शाखा विस्तार गर्न माग

हस्त बुढा, जुम्ला । राष्ट्रिय सहकारी बैंक लिमिटेड र सहकारी संघ संस्थाबिच आईतबार जिल्लामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जुम्लाका सहकारी संघ संस्थाहरुका प्रतिनिधिहरुसँग छलफल गरी जिल्लामा राष्ट्रिय सहकारी बैंक लिमिटेडको शाखा विस्तारका बिषयमा छलफल गरीएको छ ।

अन्र्तक्रिया पछि सहभागी सरोकारवाला निकाय तथा सहकारीकर्मीहरुले जुम्लामा राष्ट्रिय सहकारी बैंक लिमिटेडको शाखा बिस्तारका लागि समुहमा छलफल तथा पहल गर्ने बताएका छन् । जिल्लाका १ सय सहकारीहरु आबद्ध भई सहकार्य गरेमा बैंक शाखा सजिलै विस्तार गर्न सकिने जनाइएको छ । हाल जिल्लमा २ सय बढि सहकारीहरु संचालनमा छन् । अन्र्तक्रियामा बोल्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रबन्ध संचालक केबी उप्रेतिले बैंकको शाखा विस्तारका लागि सबै सहकारीकर्मीहरुले उचित वाताबरण बनाउनु पर्ने बताए । बैंकको शाखा विस्तार भएमा पहिलो फाईदा सहकारी संघ संस्था र सहकारीकर्मिहरुलाई तथा कृषकहरुलाई पुग्ने उनको भनाइ छ । बरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले नेपालका सहकारी संघसंस्थासँग अहिले ५ खर्ब बढि अर्थ रहेको भन्दै त्यसको २० प्रतिशत बढि रकम विभिन्न निजि बैंकमा मात्र बचत रहेको जानकारी दिए ।

हरेक जिल्लमा सहकारी बैंक शाखा बिस्तार भएको खण्डमा सहकारी संघसंस्थाको रकम आफ्नै बैंकमा जम्मा गर्न सजिलो हुने उनको भनाई छ । बैंकका संचालक हरिहर योगीले सहकारीको माध्यमबाट कृषकहरु आत्म निर्भर बन्दै गएको बताउँदै उनिहरुले उत्पादन गरेको कृषि उपजको बजार ब्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने बताए । जिल्ला सहकारी संघ जुम्लाका अध्यक्ष पदमबहादुर महतले जिल्लामा राष्ट्रिय सहकारी बैंकको शाखा विस्तार गर्न जरुरी रहेको बताए । साथै स्थानीय तहसम्म सहकारी ऐन नियमलाई प्रभावकारी बनाउँन भुमिका खेल्ने उनको भनाई छ । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष मिनबहादुर डाँगीले सहकारी अभियान मार्फत देश समृद्धि बन्ने धारणा राख्दै समाजमा छरिएर रहेको पुँजी सहकारीले र सहकारीसँग छरिएर रहेको पँुजी सहकारी बैंकले संकलन गरी बेरोजगार नागरिकसँग लगानी गर्नुपर्ने बताए । जसले गर्दा पनि जिल्लामा सहकारी बैंकको शाखा विस्तार हुन आवश्यक रहेको उनको भनाई छ । अन्र्तक्रिया कार्यक्रम राष्ट्रिय सहकारी बैंक लिमिटेड कुपण्डोल ललितपुरको आयोजना तथा जिल्ला सहकारी संघ जुम्लाको ब्यवस्थापनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०७५ जेष्ठ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस