उद्धार गरिएका बालबालिकालाई पारिवारिक पुर्नस्थापना

कर्णाली पोष्ट दैनिक
जुम्ला ः रुकुमको एक बालगृहबाट उद्धार गरिएका बालबालिकालाई पारिवारिक पुर्नस्थापना गरिएको छ । अबैध रुपमा रुकुमको नरसिंह बालगृहमा पुगेका २४ जना बालबालिकालाई सरोकारवाला निकायले उद्धार गरेर घर फर्काएपछि मंगलबार पत्रकार सम्मेलन गरी उनीहरुका आफन्त अभिभावकलाई बुझाईएको हो । गत बैशाख ५ गते देखि १० गतेसम्म दुई चरणमा पातारासी गाउँपालिका १ र २ बाट २४ बालबालिका गैरकानुनी रुपमा रुकुम पु¥याएको थियो ।


अभिभावकको दबाबमा वडापालिकाको सिफारिसबाट ति बालबालिका अबैध रुपमा त्यहाँ पुगेको खुल्न आएको र बालबालिका जोखिम अवस्थामा फेला परेपछि उद्धार गरिएको हो । अनथालयमा पढाउने भन्दै वडा नं १ का २० र २ का ४ जना बालबालिकालाई पश्चिम रुकुमको मापदण्ड पुरा नभएको नरसिंह बालगृहमा राखिएको थियो । ८ बर्ष देखि १२ बर्ष उमेर समुहका ९ बालिका र १५ जना बालक रहेका छन् ।
जिल्ला बाल कल्याण समिति रुकुम, मुसिकोट नगरपालिका रुकुम, महिला तथा बालबालिका कार्यालय र जिल्ला प्रशासन कार्यालय जुम्लाको पहलमा बालबालिकालाई जुम्ला फर्काएर पारिवारिक पुर्नस्थापना गरिएको हो । बालबालिकाको उद्धार कार्यमा प्रत्यक्ष सहयोग गर्ने जुम्ला पातारासी गाँउपालिका उर्थुका समाजसेवि युवा उम्मर बिष्ट र महिला तथा बालबालिका कार्यालय रुकुमका बालअधिकार अधिकृत मानविर ओली र जुम्लाका बाल संरक्षण अधिकृत हर्कबहादुर महतलाई सरोकारवाला निकायले धन्यबाद ब्यक्त गरेका छन् ।  शिक्षाबाट बञ्चित नहुन भन्दै उनिहरुलाई प्यान ईन्टरनेशनल नेपालको सहयोगमा किर्डाक नेपाल जुम्लाले एक÷एक जोर कपडा, जुत्ता, मोजा तथा एक÷एक दर्जन कापी, कलम सहित ज्यामेति बक्स लगाएत प्रयाप्त स्टेशनरीका सामाग्री समेत हस्तान्त्रण गरेको छ ।


बालबालिकालाई आफन्तको जिम्म लगाँउदै प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले ओसारपोसारमा संलग्न सबैमाथि अनुसन्धान गरी कारवाही गरिने बताए । तस्करीको मुखबाट बालबालिकालाई फिर्ता ल्याउन सहयोग गर्ने मिडिया र सबै निकाय तथा ब्यक्ति प्रति उनले धन्यबाद ब्यक्त गरे । गाउँमा धर्म, जात र सेवाको नाममा बालबालिकालाई पढाउँछु वा उसको भविष्यको जिम्मा लिन्छु भन्दै आउनेहरुलाई समातेर तत्काल प्रहरी, प्रशासनलाई खबर गर्न उनले अभिभावकलाई सुझाब दिए ।


‘पढाउने नाममा बालबालिका ओसारपोसार गर्दै विदेशसम्म पुगेर नरकिय जिबन बिताउन बाध्य हुन्थ्ये । आज सबैको पहलमा बालबालिकाको भविष्य अन्धकारबाट छुटेको छ’ उनले भने, ‘बच्चा जन्माएर मात्र धर्म हुदैन उचित पालनपोषण र स्वास्थ्य शिक्षामा समेत जोड दिनुपर्छ ।’
महिला विकास अधिकृत गोमा प्रसाँईले बालबालिका तस्करीको मुखमा पुग्नु अभिभावकको मुख्य दोष भएको बताईन् । आमाबाबाको काखमा बसेर पढ्ने लेख्ने उमेरमा माया मारेर आफ्नो बच्चालाई बिचौलियाको जिम्मा लगाउनु अभिभावकको गल्ती भएको उनको भनाई छ ।


बालबालिका ओसारपोसार संलग्न ६ जना प्रहरी नियन्त्रणमा
प्रहरी नायब उपरिक्षक डा.तपन कुमार दाहालका अनुसार बालबालिका ओसारपोसारमा संलग्न माथि अनुसन्धान भैरहेको छ । उनले भने बालगृह संचालक रुकुमका विबेक बुढा, सिफारिस दिने वडाध्यक्ष दत्तबहादुर बुढा र कन्न बोहोरा, ओसारपोसारमा संलग्न पासाङ लामा, चन्द्रमले बुढा र सिंह सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
आफ्ना बालबालिका बुझ्दै अभिभावकहरुले उच्च शिक्षासम्म पढाई दिने आश्वासन दिएपछि आफ्नो बच्चा बालगृहमा लैजान स्विकृति दिएको बताएका छन् । ‘गरिबिका कारण सबै बालबालिकाको पालनपोषण गर्न सकिएन । अलिकति सहज होला भनेर छोरीलाई उनिहरुको जिम्मा लगाएको हुँ‘ निरु ऐडिका बुवा प्रेमबहादुर ऐडीले भने, हामीले छोरीलाई नर्कमा पठाउन खोजेका रहेछौँ । अब काम गरेर पनि आफ्नै साथमा राखेर पढाउँछु ।’ उनिजस्तै आफ्नी दुई छोरी र एक छोरा बालगृहलाई जिम्मा लगाएका ४ सन्तानका बुवा गोबरधन ऐडिले भावुक हुदै माया भन्दा गरिबिले छोराछोरी पराईको जिम्मा लगाएको स्बीकार गरे ।
त्यसैगरी गत ०७४ पुस २५ गते पातारासी ३ का २० जना बालबालिकालाई लामा भाषा पढाउने भन्दै भारत लैजादै गरेका बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाएको थियो । बालबालिकालाई भारत लिने पातारासी गाउँपालिका ३ का २९ बर्षीय छिरिङ तुण्डुक तामाङ र सोही वडाका ३२ बर्षीय कार्मा तामाङलाई पुस २५ गते पक्राउ मानव बेचविखन तथा ओसारपोसारमा मुद्दा चलाएको थियो । आरोपित दुवै जनाले जनही एक÷एक लाख धरौटी बुझाएका ०७४ पुस १७ गते छुटेका थिए । बैशाख २० गते जिल्ला न्यायधिस प्रकाश ढुंङगानाले निमित्त श्रेस्तेदारको आदेश पुर्नविचारमा आदेश बदर भएकोले आरोपित व्यक्तिलाई थुनामा राखेर मुद्दा चलाउने आदेश भएको जिल्ला अदालत जुम्लाले जनाएको छ । निज आरोपित व्यक्तिहरु अहिले अदालतको फरार सुचिमा रहेका छन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस