मूल्य निर्धारण नहुँदा उपभोक्ताले चामल पाएनन्

कर्णाली पोष्ट दैनिक

जुम्ला ः खाद्य संस्थानको शाखा कार्यालय जुम्लामा चामलको मूल्य निर्धारण हुन नसक्दा उपभोक्ता रित्तो हात फर्किन बाध्य छन् । दुई हप्ता अघि आएको जापानिज चामलको मूल्य निर्धारण नभएको र अन्य कुनै प्रकारको चामल संस्थानमा मौज्दात नभएकाले उपभोक्ता रित्तोहात फर्किनु पर्ने अवस्था आएको हो ।

पातारासी गाउँपालिका–३ का कृष्ण बुढा खेतीपातीको समय चामल खोज्न भौंतारिनुपरेको गुनासो गर्छन् । ‘बजार भन्दा केही सस्तो पाइने भएकाले हामी संस्थानबाट चामल लिन्थ्यौँ तर अहिले बजारमा चर्को मूल्यमा चामल किन्नुपर्ने अवस्था छ’, उनले भने ।

५/६ घण्टा पैदल हिँडेर आएका सेवाग्राहीलाई संस्थानले चामलको मूल्य निर्धारण नगरिएको भन्दै रित्तो हात फर्काउने गरेको छ । खाद्य संस्थान जुम्लाका वरिष्ठ सहायक घनश्याम अर्याल जिल्ला कारागारका लागि पठाउने ३८ क्वीन्टल चामल मात्रै संस्थानमा मौज्दात रहेको बताउँछन् । कारागारलाई महिनाको ११ क्वीन्टल चामल दिने गरिएको छ ।

संस्थानको केन्द्रीय कार्यालयले मूल्य निर्धारण नगरेसम्म चामल अभाव हुने संस्थानले जनाएको छ । पटक पटक जापानिज चामलको मूल्य तोकेर उपभोक्तालाई सहज बनाउन केन्द्रीय कार्यालयलाई आग्रह गर्दै आएपनि मूल्य नतोकिएका कारण नेपालगन्ज अञ्चल कार्यालयदेखि आएको ३ सय ४० क्वीन्टल ५० केजी जापानिज चामल थन्किएको संस्थानले जनाएको छ ।

यस वर्ष जुम्ला शाखालाई ८ हजार क्वीन्टल चामलको कोटा तोकिएको थियो । जुम्लाका लागि राजापुर, नेपालगन्ज र सुर्खेत डिपोबाट चामल आउने गर्छ । अहिलेसम्म जापानिज सहित ४ हजार ६ सय ६१ क्वीन्टल चामल आइपुगेकोमा मूल्य नतोकिएका कारण जापानिज चामल वितरण भएको छैन । जापानिज चामलको मुल्य केन्द्रीय कार्यालयले तोक्नु पर्ने नीति रहेको छ ।

संस्थानमा अरुवा मोटा, मकवानपुरे, सोनामन्सुली, अरुवा मध्यम, र बंगलादेशी उसिना चामल आउने गरेको छ । दैनिक १२ देखि १५ जना सम्म उपभोक्ता चामल किन्न आएर रित्तोहात फर्कने गरेका छन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस