डेढ बर्षे देखि फरार कैदी पक्राउ

कालिकोट ः डेढबर्ष देखि फरार कैदी पक्राउ गरिएको छ । कालिकोट जिल्लाको सदरमुकाम मान्म बजारबाट फरार भएका कैदी बलबहादुर शाही पुन पक्राउ गरिएको हो । चार दिन अघि कोहलपुर पुगेका शाहीलाई जिल्ला प्रहरी कार्यालय कालिकोट र बाँके प्रहरी कार्यालयको सहयोगमा पक्राउ गरी शनिबार कालिकोट जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो ।


महावै गाउपालिका वडा नं. ३ आोदानकु निवासी कर्तव्य ज्यान मुद्धामा जिल्ला कारागार कालिकोटमा कैद भुक्तान गरिरहेका शाही २०७३ चैत ११ गते प्रहरी जवानसँग बजारमा गएको अवस्थामा फरार भएका थिए ।
फरार कैदी शाहीलाई जिल्ला प्रहरी कार्यालय कालिकोटको टोलीले बाँकेको कोहोलपुर नगरपालिका वडा नं. १४ हवल्दापुरबाट पक्राउ गरी कालिकोट ल्याएर सार्बजानिक गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरिक्षक निरज चौलागगाईका अनुसार २०६६ सालमा नेपालगञ्जका धनु धितालका छोरा राजु धिताललाई अपहरण गरी मारेको घटनाका मुख्य योजनाकार शाहीलाई जिल्ला अदालत बाँकेको २०६७फागुन २ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा सर्वस्व सहित २० बर्ष कैद र अपहरण तथा शरीर बन्दक मुद्धामा १५ वर्ष कैद र दुई लाख जरिवाना गरिएको थियो ।
जिल्ला प्रहरी नायव उपरिक्षक सुवासचन्द्र बोहोराले विशेष सूचनाको आधारमा प्रहरीले कोहोलपुरबाट पक्राउ गरी आइतबार कारागार चलान गरिएको बताए । कैदी भगाउने प्रहरीलाई कालिकोट जिल्ला कारागारभित्र थुनुवाका रूपमा राखिएको छ । उनीहरूलाई कारागार ऐन २०१९ अन्तर्गत कारबाही भइरहेको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस